चक्रवातको प्रभावले मनाङमा भारी हिमपात, करिब २०० पर्यटक अलपत्र

spot_img

मनाङ,१४ कार्तिक । बंगालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावले हिमाली जिल्ला मनाङमा भारी हिमपात भएपछि माथिल्लो मनाङका पर्यटकीय गन्तव्यमा जाने पर्यटक प्रभावित भएका छन् । बाक्लो हिमपातका कारण पदमार्गहरू हिउँले ढाकिएपछि पदयात्रा जोखिमपूर्ण बनेको छ । पर्यटकीय गन्तव्यतर्फ जान नसकेपछि करिब २०० पर्यटक मनाङ गाउँमै रोकिएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार माथिल्लो मनाङ क्षेत्रमा बाक्लो हिमपात भएपछि पर्यटकलाई पदयात्रामा नजान सूचना जारी गरिएको छ । हिमपातका कारण पर्यटकको यात्रा प्रभावित हुनुका साथै स्थानीयको जनजीवनसमेत कष्टकर बनेको छ । प्रमुख भुजेलका अनुसार हाल करिब २०० पर्यटक मनाङ गाउँमा बसिरहेका छन् । मौसममा केही सुधार देखिए पनि बाक्लो हिउँका कारण पदयात्रा गर्न सक्ने अवस्था नरहेको उनले बताए ।

‘करिब २०० पर्यटक अहिले मनाङ गाउँमा बसिरहेका छन् । हिउँ बाक्लो परेकाले मौसम सुधार हुँदै गए पनि हिँड्नसक्ने अवस्था रहेको छैन,’ उनले भने । हिमपातका कारण पदमार्गहरू जोखिमपूर्ण बने पनि केही पर्यटक भने जोखिम मोलेरै गन्तव्यतर्फ जान खोजिरहेको भुजेलले बताए । यस्तो अवस्थामा यात्रा गर्दा दुर्घटना हुन सक्ने जोखिम रहेकाले पर्यटकलाई सुरक्षित स्थानमै बस्न आग्रह गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमी प्रणालीसम्बन्धी पूर्वानुमानअनुसार चक्रवातको प्रभावबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै पर्यटकलाई सुरक्षित रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए । उनका अनुसार मौसममा केही सुधार आए पनि पर्यटक तथा स्थानीयलाई आवतजावत गर्न र निर्धारित गन्तव्यमा पुग्न सक्ने अवस्था अझै बनेको छैन । पदयात्राका लागि प्रयोग हुने पदमार्गहरू बाक्लो हिउँले पूर्ण रूपमा ढाकिएकाले जोखिम कायमै रहेको उनले बताए ।

‘मौसममा केही सुधार आएको छ । तर, पर्यटक तथा स्थानीयलाई आवतजावत गर्न र गन्तव्यमा जान दिने अवस्था भने बनिसकेको छैन,’ प्रमुख जिल्ला अधिकारी खनालले भने, ‘हिउँ बाक्लो छ । पदयात्रामा जाने पदमार्गको सबै नक्सा नै छोपिएकाले जोखिम कायमै नै छ ।’ प्रमुख जिल्ला अधिकारी खनालले पर्यटकलाई सुरक्षित स्थानमा बस्न र जोखिम मोलेर यात्रा नगर्न आग्रह गरेका छन् । यसका साथै होटल व्यवसायीलाई समेत पर्यटकको सुरक्षामा ध्यान दिन र जोखिमपूर्ण अवस्थामा पदयात्रामा नजान जानकारी गराउन अनुरोध गरिएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बिहीबार साँझदेखि मनाङमा हल्का हिमपात सुरु भएको थियो । त्यसपछि शुक्रबार र शनिबार बिहानसम्म लगातार भारी हिमपात भएको थियो । हिमपातका कारण माथिल्लो मनाङका पदमार्ग तथा पर्यटकीय क्षेत्र हिउँले ढाकिएका छन् । मौसममा सुधार देखिए पनि हिउँ नपग्लिएसम्म पदयात्रा र आवतजावत सहज हुने अवस्था नरहेको प्रशासनको भनाइ छ । त्यसैले पर्यटकलाई मौसम र पदमार्गको अवस्था अनुकूल नहुँदासम्म सुरक्षित स्थानमै बस्न आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once