वीरगंज,१४ कार्तिक । लामो समयदेखि औद्योगिक तथा अन्य कारणले प्रदूषणको चपेटामा परेको वीरगंजको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्सामा महत्वपूर्ण निर्णय गरिएको छ।
संघीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउने विषयमा महत्वपूर्ण निर्णय गरेको हो। मन्त्रालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, उद्योगी, व्यवसायी, राजनीतिक दल, सुरक्षा निकाय, नागरिक समाज तथा विभिन्न सरोकारवाला पक्षको सहभागितामा भएको छलफलले सिर्सिया नदीको संरक्षण र पुनर्जीवनका लागि साझा प्रतिबद्धता व्यक्त गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इ. दीपककुमार साहको पहल र नेतृत्वमा अघि बढाइएको यस अभियानलाई वीरगंज र समग्र पर्सावासीका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। मन्त्री साहका स्वकीय सचिव आशिष सुवेदीले शुक्रबारदेखि नै बारा र पर्साका विभिन्न सरोकारवाला पक्षसँग व्यापक छलफल तथा संवाद गर्दै यस अभियानलाई अघि बढाइरहेका छन्। बैठकमा वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, मन्त्रीका स्वकीय सचिव आशिष सुवेदी, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साकी जिल्ला अध्यक्ष बिना जैसवाल, जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, आम जनता पार्टीका जिल्ला अध्यक्ष विश्वराज पटेल, प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्तोष घिमिरेलगायतको सहभागिता रहेको थियो।
त्यसैगरी, चारवटै सुरक्षा निकायका जिल्ला प्रमुख, वातावरण संरक्षण अभियन्ता तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू पनि छलफलमा सहभागी थिए। सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउने निर्णय हुनु सकारात्मक सुरुवात भए पनि यसको प्रभावकारी कार्यान्वयनलाई मुख्य चुनौतीका रूपमा हेरिएको छ। नदीमा औद्योगिक फोहोर तथा प्रदूषित पानी मिसाउने कार्य नियन्त्रण गर्न सम्बन्धित सरकारी निकाय, उद्योगी, व्यवसायी र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बैठकमा जोड दिइएको छ।
सिर्सिया नदीको संरक्षण सरकारको मात्र जिम्मेवारी नभई उद्योगी, व्यवसायी, स्थानीय समुदाय र सम्पूर्ण नागरिकको साझा दायित्व हो। त्यसैले निर्णयलाई कागजमा सीमित नराखी व्यवहारमा उतार्न सबै पक्ष जिम्मेवार र प्रतिबद्ध भएर लाग्नुपर्ने आवश्यकता देखिएको छ। वीरगन्जको जीवनरेखाका रूपमा परिचित सिर्सिया नदीलाई स्वच्छ, सफा र प्रदूषणमुक्त बनाउने यो पहल सफल भएमा वातावरण संरक्षणसँगै भावी पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माणमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।




