Date
आइत, पुस १३, २०८२
Sun, December 28, 2025
spot_img
16.1 C
Kathmandu

वीरगंज–१८ भवानीपुरमा बर्थिङ सेन्टर सञ्चालन, ग्रामीण महिलालाई सुरक्षित प्रसूती सेवा

spot_img

वीरगंज,०४ पुस । वीरगंज महानगरपालिका वडा नं. १८ स्थित भवानीपुरमा आजदेखि बर्थिङ सेन्टर औपचारिक रूपमा सञ्चालनमा आएको छ। सुरक्षित मातृत्व सेवा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको उक्त बर्थिङ सेन्टरको महानगर प्रमुख राजेशमान सिंहले एक कार्यक्रमकाबीच उद्घाटन गर्दै सेवा शुभारम्भ गर्नुभएको हो।

उद्घाटन समारोहमा बोल्दै महानगर प्रमुख सिंहले शहर केन्द्रित स्वास्थ्य सेवाको भार कम गर्दै ग्रामीण भेगका नागरिकलाई पनि सहज, सुलभ र सुरक्षित प्रसूती सेवा उपलब्ध गराउने लक्ष्यका साथ बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको बताउनुभयो। स्वास्थ्य संस्थामै प्रसूती गराउन प्रोत्साहन गर्नु मातृ तथा शिशु मृत्युदर घटाउने प्रभावकारी उपाय भएको उहाँको भनाइ थियो।

‘ग्रामीण क्षेत्रका गर्भवती महिलाले सामान्य प्रसूती सेवाका लागि पनि शहर धाउनुपर्ने बाध्यता हटाउन गाउँमै बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको हो,’ प्रमुख सिंहले भन्नुभयो, ‘यसले स्थानीय महिलालाई समयमै सुरक्षित सेवा प्राप्त गर्न ठूलो सहयोग पुर्‍याउनेछ।’

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन पूरा गरी बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। उहाँले यस केन्द्रबाट वडा नं. १८ सहित आसपासका क्षेत्रका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी वडा नं. १८ का वडा अध्यक्ष उमाशंकर तिवारीले बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै वडामै सामान्य प्रसूती सेवा उपलब्ध भएको बताउनुभयो।
‘यसअघि सुत्केरी व्यथा लागेपछि रातबिरात गर्भवती महिलालाई वीरगंज लैजानुपर्ने बाध्यता थियो,’ उहाँले भन्नुभयो, ‘अब वडामै बर्थिङ सेन्टर सञ्चालनमा आएपछि यो समस्या ठूलो हदसम्म समाधान भएको छ।’

आवश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन पूरा भएपछि आजदेखि बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको हो। सेन्टरमा प्रि–डेलिभरी कक्ष, पोस्ट–डेलिभरी कक्ष, जाँच कक्ष, ड्रेसिङ रुम, प्रयोगशाला, स्टोर, प्रशासनिक कक्ष तथा शौचालयको छुट्टाछुट्टै व्यवस्था गरिएको छ।

यसअघि वीरगंज महानगरपालिकाले वडा नं. २१ लिपनीविर्ता र वडा नं. २८ बगहीमा पनि बर्थिङ सेन्टर सञ्चालनमा ल्याइसकेको छ। वडा नं. २८ स्थित बगही स्वास्थ्य केन्द्रमा दुई जना विशेषज्ञ चिकित्सकसहित प्रसूती तथा बाह्य रोग (ओपीडी) सेवा २४ सै घण्टा सञ्चालन हुने गरी स्तरोन्नति गरिएको छ।

वीरगंज बजार क्षेत्रमा नारायणी अस्पतालसहित विभिन्न निजी अस्पताल तथा क्लिनिकमार्फत विशेषज्ञ चिकित्सकद्वारा प्रसूती सेवा उपलब्ध हुँदै आएको छ। महानगरपालिकाले शहरसँगै ग्रामीण क्षेत्रको स्वास्थ्य सेवालाई सन्तुलित रूपमा विस्तार गर्दै लगेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once