Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
21.1 C
Kathmandu

दुधौरा पुल पुसभित्रै सम्पन्न गर्ने ठेकेदारको प्रतिवद्धता, मन्त्री कुलमान घिसिङले गरे स्थलगत निरीक्षण

spot_img

कलैया,२६ मंसिर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथलैया–ढल्केबर सडकखण्डमा निर्माणाधीन दुधौरा पुल आगामी पुस महिनाभित्र सम्पन्न गर्ने निर्माण व्यवसायीले प्रतिवद्धता जनाएका छन्। पुल निर्माण लामो समयदेखि अलपत्र परेको भन्दै बढ्दो गुनासोपछि ऊर्जा, जलश्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ शुक्रबार स्थलगत निरीक्षणमा पुगेका थिए।

पुल निर्माणमा भइरहेको ढिलाइ, बाँकी कार्य, निर्माण तालिका तथा देखिएका चुनौतीबारे मन्त्री घिसिङले सडक विभागका महानिर्देशक तथा निर्माण व्यवसायीसँग विस्तृत छलफल गरेका थिए। मुख्य राजमार्गमा पर्ने पुल लामो समयसम्म पूर्ण नहुँदा सर्वसाधारण यात्रुले दिनहुँ सास्ती व्यहोर्नुपरेको उल्लेख गर्दै उनले ‘विद्युत् लाइन जस्ता सामान्य कारण देखाएर काम रोक्न नहुने’ चेतावनी दिए। पुलनजिकै रहेको ११ केभी लाइनले निर्माणमा कुनै प्राविधिक असर नपर्ने पनि उनले स्पष्ट पारे।

दुधौरा पुलको ठेक्का पाएको महादेव खिम्ती–हिराचन उपक्रम (जेभी) का प्रतिनिधि तथा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पछिल्लो पटक थप गरिएको समयसीमाभित्रै पुल निर्माण सम्पन्न गर्ने दृढता व्यक्त गरे। निर्माण कार्यलाई तीव्रता दिँदै पुसमै पुल सडक विभागलाई हस्तान्तरण गर्ने उनले बताए।

चार लेनको ९० मिटर लम्बाइ भएको कंक्रिट पुल निर्माणका लागि महादेव खिम्ती–हिराचन उपक्रम (जेभी)सँग २०७५ असार २४ गते करसहित १७ करोड २२ लाख रुपैयाँको ठेक्का सम्झौता गरिएको थियो। सुरूको सम्झौताअनुसार पुल २०७८ असारभित्र सम्पन्न हुनुपर्ने भए पनि समयमै काम नसकिएपछि पटक–पटक म्याद थपिएको हो। पछिल्लो म्यादअनुसार आगामी पुसभित्र निर्माण पूरा गर्नुपर्ने ठेकेदार पक्षले जनाएको छ।

हाल पुल निर्माणको भौतिक प्रगति ८५ प्रतिशत पुगेको छ। वर्षौँदेखि अधुरो रहेका दुधौरा पुल समयमै सम्पन्न हुने आश्वासनसँगै स्थानीयवासी तथा यात्रुले अब सहज र सुरक्षित आवागमनको अपेक्षा गर्न थालेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once