काठमाडौं,२५ मंसिर । आज बिहान दाङमा बस दुर्घटना हुँदा घाइते भएका सबै यात्रु डिस्चार्ज भएका छन्। उपचारपछि सबै घाइते डिस्चार्ज भएका जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।
डडेल्धुराबाट काठमाडौँ आउँदै गरेको ना८ख ७४५५ नम्बरको बस पूर्वपश्चिम राजमार्गमा पर्ने लमही नगरपालिका–१ कौडियापुलबाट तल खसेको हो। प्रहरीका अनुसार बसमा सवार ३८ यात्रुमध्ये दुर्घटनामा २२ जना घाइते भएका छन्। लमहीस्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोशनराज पाण्डेयले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयको सहयोगमा घाइतेहरूलाई उद्धार गरी लमही अस्पताल पुर्याइएको बताए।
डिस्चार्ज हुनेमा डडेल्धुरा नवदुर्गा गाउँपालिका निवासी २१ वर्षीय रिक्से धामी, अजयमेरु गाउँपालिका–१, डडेल्धुरा निवासी, २७ वर्षीय नरेश ताम्राकार, अमरगढी नगरपालिका–७, हाल पोखरा निवासी ३२ वर्षीय शिवराज भट्टराई, नवदुर्गा गाउँपालिका–२, बेतपानी निवासी २८ वर्षीय खगेन्द्र बिके र २७ वर्षीया सञ्जा महरा छन्।
त्यसैगरी, परशुराम नगरपालिका–५, डडेल्धुरा निवासी २२ वर्षीय नरेन्द्रप्रसाद भट्टराई, कैलाली, गोदावरी नगरपालिका–१०, अत्तरिया निवासी ३७ वर्षीय महेन्द्र ओड, बैतडी मेलैरी नगरपालिका–३ निवासी ३८ वर्षीय धुब चन्द, डडेल्धुरा भागेश्वर गाउँपालिका–४ निवासी २२ वर्षीय विक्रम धामी, नवदुर्गा गाउँपालिका–४, डडेल्धुरा निवासी ४७ वर्षीया पार्वती बिष्ट, कैलाली महोलिया गाउँपालिका–१ निवासी १ वर्षीय टेकबहादुर थापा, नवदुर्गा गाउँपालिका–२, डडेल्धुरा निवासी १९ वर्षीय धनबहादुर ऐर, बैतडी सिँगास गाउँपालिका–३ निवासी ३५ वर्षीया यशोधा धामी, उनकी एक वर्षीय छोरी रिषिका बोहोरा, नवदुर्गा गाउँपालिका–१, डडेल्धुरा निवासी ४२ वर्षीय जितेन्द्र बुढा ऐर पनि उपचारपछि डिस्चार्ज भएका प्रहरीले जनाएको छ।
अमरगढी नगरपालिका–९ निवासी ३१ वर्षीया देवी साकी, प्युठान झिमुरुक गाउँपालिका–१ निवासी २७ वर्षीया कमला गिरी, अमरगढी नगरपालिका–९ निवासी ३९ वर्षीय मोहनसिंह साकी, सोही ठाउँ निवासी ५ वर्षीय योगेश साकी, अमरगढीकै ६ निवासी १७ वर्षीय साजन कैनी, नवदुर्गा गाउँपालिका–१ निवासी २२ वर्षीया जुना बुढा र ५२ वर्षीया भुनुदेवी साउद पनि डिस्चार्ज भएका छन्। सबै घाइतेको अवस्था सामान्य रहेकाले उपचारपछि डिस्चार्ज भएका हुन्। दुर्घटनामा परेको बसका चालक डडेल्धुरा अम्मरगढी नगरपालिका–७ निवासी ३६ वर्षीय राजेन्द्र कैनीलाई प्रहरीले पक्राउ गरेको छ।





