काठमाडौँ,२४ मंसिर । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले मानवअधिकारको विषयलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा जनकपुरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । पछिल्ला वर्षमा मानवअधिकार अत्यन्त जटिल, पेचिलो र संवेदनशील बन्दै गएको छ । उनले मानवअधिकारमा राजनीति प्रवेश गरे वातावरण ‘विषाक्त’ बन्ने उल्लेख गरे ।
राउतले राजनीतिको चक्रव्यूहबाट मानवअधिकारलाई अलग राख्नुपर्नेमा जोड दिँदै भने, ‘मानवअधिकारमा राजनीति प्रवेश भयो भने वातावरण विषाक्त हुन्छ, आ-आफ्नो विचारको चस्माबाट मानवअधिकारलाई हेर्न थालियो भने यसको विश्वव्यापी सार्वभौमिकता, यसको मान्यता, महत्त्व र यसको ओजमा निःसन्देह असर पुग्ने नै हुन्छ ।’
उनले थपे, ‘निजी विचार, व्यक्तिको आस्थाभन्दा माथि उठेर मानवअधिकारलाई हेर्न खोजियो भने मात्र मानवअधिकारको सम्मान, संरक्षण र संवर्द्धन हुन सक्छ । मानवअधिकारको कुरा बढी संवेदनशील किन हुन पुगेको छ भने यो विषय जष्टिस र लिबर्टीसँग जोडिएकोले संवेदनशील हुन्छ ।’





