सेढवा,२१ मंसिर । पर्साको पटेर्वासुगौली गाउँपालिका–४ उत्तर सुगौलीका युवा समाजसेवी मुकेश गौरोले एक अत्यन्त विपन्न परिवारका तीन बालबालिकालाई न्यानो लुगा प्रदान गर्दै मानवता र सामाजिक उत्तरदायित्वको प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्।
जगरनाथपुर गाउँपालिका–३ बड्गोटोलका ग्यास मियाँका तीन सन्तानका लागि गौरोले जुत्ता, मोजा, टोपी, स्वीटरलगायत आवश्यक न्यानो पोसाक उपलब्ध गराएका हुन्।
उक्त सहयोग नेपाल राष्ट्र प्राथमिक विद्यालय, बड्गोमा विद्यालय प्रशासनको उपस्थितिमा औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।
युवा समाजसेवी गौरोका अनुसार समुदायभित्र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाहरूलाई व्यक्तिगत स्तरमै सहयोग गर्दै आएको र आवश्यक परे सामाजिक सञ्जालमार्फत पनि सहयोगकर्ता जुटाइने बताए। “समाजका बालबालिकाको आधारभूत आवश्यकताको संरक्षण गर्नु प्रत्येक नागरिकको नैतिक दायित्व हो,” उनले उल्लेख गरे।
विद्यालयका प्रधानाध्यापक ओमप्रकाश चौधरीका अनुसार ती बालबालिकालाई अत्यावश्यक न्यानो कपडाको आवश्यकता रहेकाले फेसबुकमार्फत सहयोग आह्वान गरिएको थियो। सामाजिक सञ्जालमै गरिएको उक्त पोस्ट देखेर गौरोले तुरुन्तै सहयोग अघि बढाएका हुन्।
समुदायमै सहकार्य, संवेदना र मानवताको भावनालाई अग्रसर बनाउँदै गरिएको यस सहयोगको स्थानीय अभिभावक तथा विद्यालय परिवारले प्रशंसा गरेका छन्।





