वीरगंज,२१ मंसिर । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता आइतबार वीरगंज नगर सभा गृहमा भव्य रूपमा सम्पन्न भयो।
प्रतियोगितामा माधव तिमिल्सिना प्रथम घोषित भए भने लक्ष्मी खरेल द्वितीय र सुर्यनारायण विक तृतीय स्थानमा रहे। प्रथम हुने तिमिल्सिनाले २० हजार रुपैयाँ, द्वितीय खरेलले १५ हजार रुपैयाँ र तृतीय विकले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
त्यसैगरी, उत्कृष्ट प्रस्तुतिका आधारमा सान्त्वना पुरस्कार स्वरूप सुरेश बिडारी, बिमला गुप्ता र आर्जु देवकोटालाई जनही ५ हजार रुपैयाँ प्रदान गरिएको नारायणी एफएमले जानकारी दिएको छ।
कार्यक्रम नारायणी एफएमका कार्यकारिणी अध्यक्ष गोविन्द देवकोटाको अध्यक्षता तथा वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण, पर्सा प्रहरी प्रमुख एसपी सुदिपराज पाठक, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा तथा पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश खनाललगायतको उपस्थिति गरेका थिए।
कार्यक्रमको सञ्चालन नारायणी एफएमका प्रबन्ध निर्देशक शिवनाथ यादवले गरेका थिए।





