वीरगंज (पर्सा), ९ मंसिर । आगामी पुस–माघमा देखिन सक्ने शितलहरजन्य विपतका सम्भावित प्रभावलाई न्यूनीकरण गर्न पर्सा जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिले १४ वटा महत्वपूर्ण निर्णय गर्दै अग्रिम तयारीका गतिविधि तीव्र बनाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा प्रमुख जिल्ला अधिकारी तथा समितिका संयोजक भोला दाहालको अध्यक्षतामा बसेको बैठकले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२/८३ लाई स्वीकृति प्रदान गरेको हो ।
गरिब तथा विपन्न परिवार पहिचान गरिने, दाउरा–इन्धनदेखि कम्बलसम्म अग्रिम भण्डारण
बैठकले पर्साका शितलहर प्रभावित समुदाय तथा गाउँ–टोलमा रहेका गरिब, विपन्न तथा जोखिममा रहेका परिवारको पहिचान गरी आवश्यक दाउरा, इन्धन, न्यानो कपडा, कम्बल लगायत सामग्रीको अग्रिम भण्डारण गर्न सबै स्थानीय तह, सुरक्षा निकाय, रेडक्रस, उद्योग वाणिज्य संघ तथा सम्बन्धित संस्थाहरूसँग आग्रह गरेको छ । यसबाहेक, विपद् उत्पन्न भएमा तुरुन्तै प्रयोग गर्न मिल्ने गरी सबै सामग्रीहरू व्यवस्थित ढंगले व्यवस्थापन गर्न समेत निर्देशन दिइएको छ ।
खोज–उद्धार तयारीदेखि सचेतना कार्यक्रमसम्म
शितलहरका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै बैठकले खोज तथा उद्दारका लागि आवश्यक जनशक्ति र सामग्री तयारी गर्ने, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम मार्फत सचेतनामूलक गतिविधि संचालन गर्ने, प्रभावित क्षेत्रमा दाउराको उपलब्धता सहज बनाउन प्रत्येक स्थानीय तहले माग पेश गर्नुपर्ने निर्णय गरेको छ । जिल्ला वन कार्यालयले पनि पालिकाहरूलाई आवश्यक परिमाणमा दाउरा माग गर्न औपचारिक अनुरोध गरेको छ ।
शसस्त्र प्रहरी गुल्मका लागि जग्गा सिफारिस
विपद् व्यवस्थापनका दृष्टिले कुनै प्रतिकूल प्रभाव नपर्ने निष्कर्षसहित बैठकले शसस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म भिखमपुरका लागि जगरनाथपुर गाउँपालिका–२ (साविक जानकीटोल–९) मा अवस्थित कित्ता नं. १५८ को १४ बिघा ११ कठ्ठा एैलानी जग्गामध्ये १ बिघा १० कठ्ठा जमिन उपलब्ध गराउने विषयमा सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै, बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि प्राप्त सिफारिसहरूलाई स्वीकृति दिने निर्णय पनि बैठकले सर्वसम्मतिले पारित गरेको छ ।
बैठकमा पोखरिया नगरपालिकाका प्रमुख प्रदुमन चौहान, धोबिनी गाउँपालिकाका अध्यक्ष मदन चौहान, सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादव, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्की, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुदीपराज पाठक, शसस्त्र प्रहरीका एसपी पुरनचन्द्र भट्ट, पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, गैरसरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह लगायत विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृत, उद्योग वाणिज्य संघका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।





