वीरगंज,०९ मंसिर । नेपालका वैदेशिक व्यापारमा वीरगंज भन्सारको वर्चस्व झनै प्रस्ट हुँदै गएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक मसान्तसम्मको तथ्यांकले देशभरका २८ भन्सार बिन्दुमध्ये करिब आधा हिस्सा व्यापार वीरगंज भन्सारमार्फत हुने गरेको देखाएको छ।
वैदेशिक व्यापारमा वीरगंज शीर्षस्थ
चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालले ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने ९३ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ।
यीमध्ये वीरगंज भन्सार एक्लैले २ खर्ब ८२ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ, जुन कुल आयातको ४६.३४ प्रतिशत हो।
त्यसैगरी, ३२ अर्ब ९५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ, जुन कुल निर्यातको ३५.२५ प्रतिशत पर्छ।
अन्य प्रमुख भन्सारको स्थिति
भैरहवा भन्सार आयातका आधारमा दोस्रो ठूलो बिन्दु बनेको छ। यस भन्सारमार्फत ९३ अर्ब २७ करोड रुपैयाँ बराबर वस्तु नेपाल भित्रिएको छ, जुन कुल आयातको १५.३० प्रतिशत हो। निर्यात भने ९ अर्ब ४८ करोड रुपैयाँ बराबर (१०.१५ प्रतिशत) छ।
तेस्रो ठूलो भन्सार विराटनगर हो। यहाँबाट ७३ अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ (१२.०३ प्रतिशत)।
तर निर्यातको हिसाबले विराटनगर दोस्रो ठूलो भन्सार बनेको छ, जहाँबाट २७ अर्ब ६९ करोड रुपैयाँ (२९.६३ प्रतिशत) बराबरको वस्तु विदेश पठाइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार पनि प्रमुख व्यापारिक बिन्दु बनेको छ। चार महिनामा यहाँबाट ७१ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु आयात (११.७१ प्रतिशत) र १२ अर्ब ९ करोड रुपैयाँ बराबरको निर्यात (१२.९४ प्रतिशत) भएको छ।
यसैबीच, पोखरा र भैरहवा विमानस्थल भन्सारमार्फत भने यस वर्ष अहिलेसम्म कुनै व्यापार भएको छैन।
चीनसँगको व्यापारमा कोरला नाका विकल्प
नेपाल–चीन व्यापारका मुख्य प्रवेश नाकामध्ये रसुवागढी नाका बाढीले मितेरी पुल भत्काएपछि लामो समयदेखि अवरुद्ध छ। पुल पुनर्निर्माण प्रक्रिया जारी रहेको समयमा चीनसँगको व्यापारमा मुस्ताङस्थित कोरला नाका प्रभावकारी विकल्प बनेको छ।
कोरला नाका हुँदै चार महिनामा ७ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु आयात र ८ करोड ३८ लाख रुपैयाँ बराबरको निर्यात भएको छ।रसुवागढी नाकाबाट भने केवल ३८ करोड ८१ लाख रुपैयाँ बराबर वस्तु आयात भएको छ, निर्यात शून्य छ। यस्तै, तातोपानी नाकाबाट १३ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु आयात भए पनि निर्यात शून्य देखिएको छ। वर्षायाममा बारम्बार अवरुद्ध हुने तातोपानी नाका अहिले पनि पूर्णरूपमा सहज छैन।





