Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
21.1 C
Kathmandu

घरेलु षड्यन्त्रः महिलाको विभत्स हत्या, घरको भुसाखाडलमा पुरिएको अवस्थामा शव फेला

spot_img

वृन्दावन (रौतहतट), ९ मंसिर । रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा एक महिलाको परिवारकै सदस्यको मिलेमतोमा निर्मम ढंगले हत्या गरिएको घटना सार्वजनिक भएको छ । स्थानीय शेख आदिलकी २५ वर्षीया पत्नी तरीमा खातुनलाई हत्या गरी घरमै रहेको भुस राख्ने स्थानमा खाडल खनी गाडिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।

सोमबार राती हत्या गरिएको अनुमान गरिएका खातुनको शव मंगलबार बिहान इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीले पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकका पति शेख आदिल भने हाल वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा छन् ।

हत्यापछि घरका सबै सदस्य फरार
घटना बाहिरिएसँगै खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका सबै परिवारजन फरार छन् । उनीहरू खातुनको डेढ वर्षीय छोरा मोहम्मद आरिफलाई समेत लिएर फरार रहेको जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक रविन कार्कीले जानकारी दिए । मृतक खातुनको माइती गुजरा नगरपालिका–७ पल्टुवामा रहेको छ ।

अनैतिक सम्बन्धको आरोपबाट हत्या भएको आशंका
घटनाको जडमा अनैतिक सम्बन्धको आरोप रहेको बताइएको छ । गत कात्तिक १८ गते माइतीतर्फको विवाह समारोहमा खातुन नातामा भतिजो पर्ने गुड्डु भनिने शेख अलाहुदिनसँग सम्बन्ध राखिरहेको अवस्थामा परिवारका सदस्यले देखेका थिए । सो प्रकरणपछि दुवैले विवाह गर्ने मौखिक सहमति जनाएपछि खातुनलाई ससुरा शेख अलि मोहम्मदकै जिम्मामा अलाहुदिनसहित राखिएको मृतकका बुबा ताज मोहम्मदले बताएका छन् ।

हत्या देखेका भाइलाई ‘मारिदिन्छौं’ धम्की
घटनाको रात खातुनका भाइ शेख आस मोहम्मद दिदीकै घरमा थिए । अर्की दिदीको घर (जो खातुनकै ससुराली पनि हो) आएका बेला सोमबार राति दिदीमाथि कुटपिट र हत्या भइरहेको दृश्य उनले आँखै देखे । परिवार जनले उनलाई ‘हल्ला गर्‍यौ भने तिमीलाई पनि मारिदिन्छौं’ भनेर धम्की दिएपछि उनी कसैगरी भाग्न सफल भएको परिवारजनले बताएका छन् ।
आस मोहम्मदले दिदीको हत्या भएको फोटो खिचेर माइतीतर्फ पठाएको समेत परिवारले जनाएको छ ।

चक्कु बरामद, टाउकोमा धारिलो हतियारको प्रहार
प्रहरीका अनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट लागेको छ भने टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्राथमिक अनुसन्धानबाट खुलेको छ । घटनास्थलबाट प्रहरीले एउटा चक्कु समेत बरामद गरेको जनाएको छ । खातुनको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ । फरार रहेका परिवारजनको व्यापक खोजी तेज पारिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once