Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
23.1 C
Kathmandu

एनपीएलमा विराटनगरको तेस्रो लगातार जित, जनकपुर फेरि पराजित

spot_img

काठमाडौं,०८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा जनकपुर बोल्ट्सले लगातार दोस्रो पराजय व्यहोर्नुपरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको रोमाञ्चक खेलमा विराटनगर किङ्सले जनकपुरलाई ९ रनले हराउँदै प्रतियोगितामा लगातार आफ्ना तीनै खेल जित्ने उत्कृष्ट प्रदर्शन कायम राख्यो।

टस हारेर पहिलो ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा १३५ रनको चुनौतीपूर्ण योगफल बनायो। टीमका लागि ओपनर लोकेश बमले २६ बलमा २८ रन जोड्दै टिमलाई राम्रो सुरुवात दिलाए। जर्ज मुन्से १० रनमै समेटिए भने अनुभवी ब्याट्सम्यान मार्टिन गप्टिलले १५ बलमा १३ रन बनाए। मध्यक्रममा वसिर अहमदले ३५ बलमा ३६ रनको महत्वपूर्ण पारी खेले भने शुमम रन्जानेले २९ बलमा ३७ रन जोडेका थिए।

बलिङतर्फ जनकपुरका रुपेश सिंह र संगित कुरेले २–२ विकेट लिए भने आदित्य मेहताले १ विकेट हात पारे।

१३६ रनको लक्ष्य पछ्याउन उत्रिएको जनकपुर बोल्ट्सको सुरुवात राम्रो भए पनि टोलीले आवश्यक लय कायम गर्न सकेन। जनकपुरका लागि निकोल लोफ्टी इटोनले शानदार ४१ रनको पारी खेले। लाहिरु मिलान्थाले २३ रन, आसिफ शेखले १३ रन र सञ्जय कृष्णमुर्थीले २० रन जोडे। तर लगातार अन्तरालमा विकेट गुमेपछि जनकपुर लक्ष्यमाथि पुग्न असफल रह्यो।

विराटनगरका कप्तान सन्दीप लामिछानेले विध्वंशकारी बलिङ प्रदर्शन गर्दै सर्वाधिक ४ विकेट हात पारे। साथै सूर्य तामाङले २ विकेट लिए भने मर्चेन्ट डे लाङ र शुमम रन्जानेले १–१ विकेट योगदान दिए।

जितसँगै विराटनगर किङ्सले प्रतियोगितामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको छ भने जनकपुर बोल्ट्स भने लगातार दोस्रो हारपछि दबाबमा परेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once