वीरगंज (पर्सा), ६ मंसिर । ज्येष्ठ नागरिक संघ, पर्सा–वीरगंज शाखा वडा नं.–१६, नगवाले शनिबार आयोजना गरेको निःशुल्क आँखा जाँच शिविर भव्य र व्यवस्थित रूपमा सम्पन्न भएको छ । श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, वीरगंज–१६, नगवाको प्राङ्गणमा गरिएको शिविरमा ११५ जनाले आँखा स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
शिविरको प्रमुख अतिथि समाजसेवी तथा वीरगंजका पूर्व मेयर विजय सरावगी रहेका थिए । कार्यक्रमको अध्यक्षता ज्येष्ठ नागरिक संघ वडा–१६ नगवाका अध्यक्ष विश्वनाथ प्रसाद चौरसियाले गरेका हुन् । सचिव सुरेन्द्र कानुद्वारा संचालन भएको कार्यक्रममा विशिष्ट अतिथि नरेन्द्र तिवारी, महिला वरिष्ठ सदस्य सावित्री भुमियार, जिल्ला अध्यक्ष बैजनाथ महतोसहित स्थानीय गणमान्य व्यक्ति, सामाजिक अभियन्ता र सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
माट्रिका आई फाउन्डेसनको प्राविधिक सहयोगमा संचालन गरिएको शिविरमा जाँच गरिएका ११५ मध्ये १८ जनामा मोतियाबिन्दको समस्या देखिएको आयोजकले जनाएको छ । तीमध्ये ९ पुरुष र ९ महिला रहेका छन् । पहिचान गरिएका सबै बिरामीको शल्यक्रिया निःशुल्क गराइने फाउन्डेसनले प्रतिवद्धता जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सरावगीले आँखा मानव जीवनको अत्यन्त सम्वेदनशील तथा अनिवार्य अंग भएकाले समयमै उपचार पाउन नसक्दा धेरैले अनावश्यक दुःख भोग्नुपर्ने स्थिति रहेको बताए ।
समुदाय–केन्द्रित स्वास्थ्य सेवामा यस्तो प्रकारका शिविरहरूले महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै उनले ज्येष्ठ नागरिकसँगै सबै वर्गलाई लक्षित स्वास्थ्य सेवा कार्यक्रम आवश्यक रहेकोमा जोड दिए । शिविरमा ज्येष्ठ नागरिक संघका पदाधिकारी, सदस्य, सामाजिक अभियन्ता, स्थानीयवासी र सरोकारवालाको सक्रिय उपस्थिति रहेको थियो । आयोजकका अनुसार आगामी दिनमा पनि यस्ता निःशुल्क स्वास्थ्य–सम्बन्धी कार्यक्रम निरन्तरता दिने योजना छ ।





