वीरगंज, ६ मंसिर । पर्सा जिल्लाका ग्रामीण भेग अहिले लागुऔषध भण्डारण तथा तस्करीको मुख्य केन्द्र विन्दु बन्दै गएको छ । मकवानपुरको मनहरी र लोथर तथा धादिङका पहाडी भेगमा उत्पादन हुने गाँजा पछिल्ला केही वर्षयता चितवन–पर्सा राष्ट्रिय निकुञ्ज र आसपासका जंगलै–जंगल हुँदै पर्साका गाउँबस्तीमा भण्डारण गरेर भारत लैजाने तस्करी झनै तीव्र बन्दै गएको छ ।
सुरक्षा निकायका अनुसार विजयबस्ती, सुवर्णपुर, बाघमोर्चा, गोपीबस्ती, गढुवालाइन लगायतका बस्तीहरू हाल सक्रिय ‘स्टोरेज हब’ र तस्करी मार्गका रूपमा उदाएका छन् । भारतको बिहारमा हालै सम्पन्न विधानसभा चुनावका कारण केही समय तस्करी रोकिएपनि परिणाम सार्वजनिक भएसँगै तस्करी फेरि तीव्र बनेको सुरक्षा श्रोतको दाबी छ । चुनावपूर्व नै मकवानपुर र धादिङबाट ठूलो मात्रामा ल्याइएको गाँजा पर्साका दुर्गम गाउँहरूमा लुकाइ–छिपाइ भण्डारण गरिएको थियो ।
तस्करीका लागि मनहरी–लोथर–पटेर्वासुगौली मार्ग मुख्य ‘सप्लाइ लाइन’का रूपमा प्रयोग हुने गरेको छ । साथै जिल्ला भित्रै सोनवर्षा, कञ्चनपुर, बैरिया, देकुली, मोरटोल, मुजवनिया टोल, जीराभवानी, सखुवनिया, भवानीपुर, महादेवपट्टी, औराहा लगायतका गाउँ हुँदै मोटरसाइकल, जीप, भ्यान र भरियामार्फत गाँजा भारततर्फ पुर्याइन्छ ।
विजयबस्ती–सुवर्णपुर हुँदै पिडारीगुठी, पाँडेपुर, जानकीटोला हुँदै भिखमपुर, मिर्जापुर, टिहुकी, पकाहामैनपुर, प्रसौनीभाठा, अमरपट्टी र अलौंसम्मका रुटहरू पनि पछिल्लो समय अत्यन्त सक्रिय तस्करी मार्गका रूपमा खुल्न थालेका छन् ।
सुरक्षा कडाइ बढेको भनिए पनि स्थानीय बासिन्दाले भने कतिपय प्रहरी नै तस्करी सहज बनाउने कार्यमा संलग्न रहेको आरोप लगाएका छन् । पटेर्वासुगौलीजस्तो सानो क्षेत्रमा मात्र चार जना घुमुवा प्रहरी परिचालन भएकाले उनीहरू तस्करसँग नै मिलेमतोमा सूचना आदान–प्रदान गरिरहेको स्थानीयको गुनासो छ ।
पर्सामा स्थानीय स्तरमा गाँजा खेती अन्त्य भएको १५ वर्ष पुगिसक्दा मकवानपुर र धादिङमा भने यसको उत्पादन झनै बढेको सुरक्षा निकायको विश्लेषण छ । त्यहाँ प्रतिकिलो रु ३ हजारमै पाइने गाँजा पर्सामा रु ६ हजारमा सजिलै बेचिने र भारत सीमा कटेपछि रु २५ हजारसम्म पुग्ने भएकाले तस्करी अत्यन्त लाभदायक व्यवसाय बनेको अधिकारीहरूको भनाइ छ । जिल्ला प्रहरी कार्यालय पर्साले पछिल्ला वर्षहरूमा लागूऔषध नियन्त्रणमा उल्लेख्य सफलता मिलेको दाबी गर्दै यस वर्ष नियन्त्रण कार्य बढाइएको बताएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा मात्र प्रहरीले ४६७ किलो गाँजा, ९१ किलो चरेस र ७६६ ग्राम खैरो हेरोइन बरामद गरेको थियो । चालू आर्थिक वर्षमा कात्तिक मसान्तसम्ममै १,५६१ किलो गाँजा, ६२५ किलो चरेस र ३८४ ग्राम हेरोइन सहित स्वदेशी तथा विदेशी गरी ३५ जना तस्कर पक्राउ परिसकेका छन् ।
जिल्ला प्रहरी कार्यालय, पर्साका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार गाँजा तथा अन्य लागूऔषध नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको छ । सीमावर्ती क्षेत्रमा गस्ती, चेकजाँच, निगरानी र सूचना–आधारित अपरेसनहरू निरन्तर कडाइका साथ भइरहेका उनले बताए । ‘लागूऔषध तस्करीमा संलग्न जो कोहीमाथि कानुन अनुसार कडा कारबाही हुन्छ,’ बस्नेतले चेतावनी दिए । यद्यपि कडाइ बढेपनि तस्करी गतिविधि लगातार बढ्दै गएको देखिएपछि स्थानीयवासीले निकुञ्ज क्षेत्र, वनमार्ग र तस्करीका सक्रिय केन्द्रहरूमा थप पारदर्शी निगरानी तथा कठोर कारबाहीको माग गरिरहेका छन् ।





