वीरगंज (पर्सा), ६ मंसिर । पर्सा जिल्लाका ग्रामीण क्षेत्रमा बसोबास गर्ने किसानहरू अहिले वर्षे धानबाली भित्र्याउने काम सकाउँदै अर्को मुख्य बाली गहुँको तयारीमा जुट्न थालेका छन् ।
धान कटानी पूरा भएलगत्तै खेतमा रहेको पराल व्यवस्थापन गर्ने, पराल जलाउने वा चिस्यानयुक्त जमिनलाई फाली प्रयोग गरी जोत्न थालिएको जिराभवानी गाउँपालिका–३, नौकाटोला निवासी किसान हरिशंकर राय थारुले जानकारी दिए । उनका अनुसार गहुँ खेतीका लागि आवश्यक पर्ने डिएपी, यूरिया, पोटाशजस्ता रासायनिक मल तथा उन्नत जातका बीउ–बिजनको व्यवस्थापनमा किसानहरू अहिले व्यस्त छन् । यसैबीच, ठोरी तथा जिराभवानी गाउँपालिकाका केही क्षेत्रमा यसपालिको वर्षाले तोरीबालीमा ठूलो क्षति पुर्याएपछि त्यसैबाट खाली भएको जग्गामा किसानहरूले तुरुन्तै गहुँ छर्न थालेको जिराभवानी–१, शान्तिनगरका कृषक रविमोहन सापकोटाले बताए ।
तर छिपहरमाई गाउँपालिका–४, बजारीका किसान नरेश साह भने अझै धान कटानै भ्याउन नसकेको बताउँछन् । उनका अनुसार नण्डक नहरको दक्षिणी भूभागमा छठ पर्वपछि परेको अविरल वर्षाका कारण खेतमा पानी जमिरहेकाले अहिले पनि धान भित्र्याउन कठिन भईरहेको छ । यस्तो अवस्थाले गर्दा गहुँ खेतीका लागि जमिन तयार हुन अझै धेरै समय लाग्ने साहको भनाइ छ ।





