Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

सिमरा आन्दोलन प्रकरणमा थप एकजना पक्राउ

spot_img

जितपुरसिमरा, ५ मंसिर । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ सिमरा चोकमा बुधवार जेन–जी र नेकपा एमाले कार्यकर्ताबीच भएको झडप प्रकरणमा प्रहरीले थप एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३८ वर्षीय अरविन्द साह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, एसपी सन्तोष तामाङले जानकारी दिए । यससँगै सो घटनामा पक्राउ परेकाहरूको संख्या तीन पुगेको छ ।

यसअघि बिहीबार बिहानै जितपुरसिमरा–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नं. ६ का वडाध्यक्ष कैमद्विन अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । दुवै नेता एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार उनीहरूविरुद्ध अदालतबाट ७ दिनको म्याद थपी अनुसन्धान भइरहेको छ ।
सो झडपको जाहेरी जेन–जी नेता सम्राट् (साइकुस) उपाध्यायले इलाका प्रहरी कार्यालय सिमरामा दर्ता गराएका थिए । जाहेरीमा आफूलाई नियोजित रूपमा आक्रमण गरी कुटपिट गरिएको उल्लेख छ । प्रहरीले घटनामा अन्य व्यक्तिहरूको संलग्नता रहेको आशंका गर्दै थप अनुसन्धान जारी राखेको छ ।

बुधवार एमाले महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य महेश बस्नेतसहितका नेताहरू सहभागी हुने ‘राष्ट्रिय जागरण कार्यक्रम’ विरुद्ध जेन–जी युवाहरू सिमरा विमानस्थल अगाडि शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका थिए । तर, आकस्मिक रूपमा एमालेनिकट कार्यकर्ताहरूले प्रदर्शनकारीमाथि आक्रमण गरेपछि तनाव चर्किएको थियो । आक्रोशित प्रदर्शनकारीले त्यसपछि विमानस्थल गेटमा तोडफोड गर्नुका साथै भित्रै ढुंगामुढा गरेका थिए ।

घटनापछिल्लो दिन बिहीबार बिहानैदेखि जेन–जीहरूले पथलैया–वीरगंज सडकखण्ड अवरुद्ध गरेपछि प्रशासन थप दबाबमा परेको थियो । सडक खुलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच फेरि झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले सिमरा क्षेत्रमा पुनः कर्फ्यु लगाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once