सिमरा, ४ मंसिर । बारा जिल्लाको जितपुरसिमरा बजार क्षेत्रमा जेनजी समुदायका युवाले गरिरहेको प्रदर्शन र सडक अवरोधका कारण यात्रुवाहक बसले स्कुटरलाई ठक्कर दिँदा एक युवक गम्भीर घाइते भएका छन् । अवरोधका कारण बाटो बदल्न बाध्य भएको बसले मालपोत चोक नजिक दुर्घटना गराएको प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय सिमराका अनुसार वीरगंजबाट पथलैया जाँदै गरेको ना ६ ख ८४४५ नम्बरको बस सिमरा चोकमा प्रदर्शनकारीले सडक पूरै रोकेपछि अघि बढ्न नसकी फर्कन बाध्य भएको थियो । बस पुनः वीरगंजतर्फ फर्कने क्रममा सिमराको मालपोत चोक छेउमै बा ९३ प ३९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख, प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले घटनाबारे जानकारी दिँदै भने, ‘जेनजी युवाको प्रदर्शनले सडक अवरुद्ध भएपछि बस फर्कन थालेको थियो । फर्कने क्रममा मालपोत चोकमा स्कुटरसहितको दुर्घटना भयो । घाइतेलाई तत्काल उद्धार गरी वीरगंजको बयोधा अस्पताल पुर्याइएको छ ।’ उनका अनुसार घाइतेको अवस्था अत्यन्त गम्भीर रहेको र पहिचान खुल्न नसकेको बताए ।
सिमरा चोकदेखि मालपोत चोकसम्मको दूरी करिब २ किलोमिटर मात्र भए पनि प्रदर्शनका कारण सम्पूर्ण यातायात ठप्प बनेको थियो । जेनजी समुदायले आफूहरूमाथि बुधवार सिमरा क्षेत्रमा एनएमाले निकट युवाद्वारा गरिएको भनिएको आक्रमणमा संलग्नहरूलाई कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन जारी राखेका थिए ।
दुर्घटना पछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्व–पश्चिम राजमार्गको सिमरा खण्ड प्रदर्शनका कारण पूर्ण रूपमा अवरुद्ध हुँदा यात्रुहरू कडा समस्यामा परेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।





