वीरगंज, ४ मंसिर । वीरगंज नाका हुँदै नेपाल भ्रमणमा आउने भारतीय पर्यटकहरूको सुरक्षा जाँचलाई सहज र व्यवस्थित बनाउने उद्देश्यसहित नाकाकै प्रवेशद्वारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको एकीकृत सीमा सुरक्षा बीट निर्माण प्रक्रिया सुरु गरिएको छ । वीरगंज महानगरपालिका–१६ स्थित शंकराचार्य प्रवेशद्वार नजिकको मितेरी पुल छेउमा सो एकीकृत संरचना निर्माण भइरहेको हो ।
अहिलेसम्म भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकका सवारीसाधनलाई नाकादेखि पर्सा जिल्लाको अन्तिम सिमाना गण्डकसम्म विभिन्न स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले अलग–अलग रूपमा चेकजाँच गर्दै आएका कारण भारतीय पर्यटकहरू बारम्बार हैरानी बेहोर्न बाध्य थिए । यस्तै जनगुनासोलाई समाधान गर्न अब नाकानजिकै दुवै सुरक्षा निकाय एउटै बीटमा बसेर संयुक्त चेकजाँच गर्ने व्यवस्था गरिएको हो ।
बिहीबार वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले एकीकृत सुरक्षा बीट निर्माण कार्यको शिलान्यास गरे । यस संरचना निर्माण वीरगंज महानगरपालिका कार्यालय र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको सहकार्यमा सुरु गरिएको हो । पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकका अनुसार, सुरक्षा प्रणालीलाई आधुनिक, एकीकृत र पर्यटकमैत्री बनाउन यो परियोजना अघि बढाइएको हो ।
एसपी पाठकका अनुसार, नयाँ एकीकृत सुरक्षा बीट संचालनमा आएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी एकै स्थानबाट समन्वय गर्दै रहेको चेकजाँचलाई अन्तिम मानिनेछ । यसबीच भन्सार प्रक्रियामा भइसकेका भारतीय सवारीसाधनलाई विशेष सुरक्षा सूचनाबाहेक अब पर्सा जिल्लाभरि अन्य कुनै ठाउँमा दोहोरिन चेकजाँच गरिने छैन । यसले भारतबाट आउने पर्यटकलाई अनावश्यक झन्झट र हैरानीबाट मुक्त गराएर यात्रा अनुभवलाई सहज बनाउने छ ।
शिलान्यास कार्यक्रममा बोल्दै मेयर सिंहले एकीकृत सुरक्षा बीट निर्माणले भारतीय पर्यटकलाई मात्र होइन, नाकाबाट हुने अवैध क्रियाकलाप नियन्त्रण, सुरक्षा संयन्त्रको प्रभावकारिता वृद्धि तथा स्थानीय बासिन्दाको सुरक्षा सुनिश्चिततामा समेत महत्वपूर्ण योगदान पुर्याउने बताए । ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्ट, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक युवराज कटवाल, वीरगंजस्थित भारतीय महावाणिज्यदूतावासका महावाणिज्यदूत डीएस मीना लगायतको उपस्थिति रहेको थियो ।





