वीरगंज, ४ मंसिर । वीरगंज नयाँ बसपार्कमा मङ्गलवार मध्यरात दुई वटा बसमा लागेको आगो कुनै आकस्मिक दुर्घटना नभई योजनाबद्ध आगजनी भएको खुलेको छ । बस सञ्चालक स्वयंले बिमा रकम दाबी गर्ने उद्देश्यले आगो लगाएको स्वीकार पछि घटनाको प्रकृति झनै स्पष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
मङ्गलवार राति करिब १२ः४५ बजे ना ५ ख ६२१६ र ना ५ ख ६२१७ नम्बरका दुई बस एकैसाथ आगोमा परेका थिए । करिब ४–५ महिनादेखि बसपार्कको कम्पाउन्डभित्र पार्किङ गरी राखिएका यी दुवै बस आगो नियन्त्रणमा आउँदा पूर्ण रूपमा जलेर नष्ट भइसकेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुदिपराज पाठकले आगलागी सुनियोजित योजना अनुसार गरिएको पुष्टि गरे। बस सञ्चालकले बिमा कम्पनीबाट पैसा पाउनका लागि आफैँले आगो लगाएको कुरामा बयान दिएको बताए ।
आगलागनी भएको सूचना प्राप्त भएको केही मिनेटमै प्रहरी टोली घटनास्थल पुगेको थियो भने वीरगंज महानगरपालिकाको दमकल टोलीले आगो नियन्त्रणमा साथ दिएको थियो । तर दुवै बसमा फैलिएको आगो नियन्त्रणमा आउँदासम्म बसहरू खरानी जस्तै अवस्था बनेका थिए । उक्त आगलागी प्रारम्भिक दृश्यमै शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धानलाई फरक कोणबाट अघि बढाएको थियो । यही प्रक्रियामा बस सञ्चालकले अपराध स्वीकार गरेपछि घटना योजनाबद्ध भएको पुष्टि भएको एसपी पाठकले जानकारी दिए ।
‘घटनामा अरू व्यक्तिहरूको पनि संलग्नता देखिएको छ । तर अनुसन्धान जारी रहेकाले अहिले नाम सार्वजनिक गर्न मिल्दैन’ उनले भने । बस सञ्चालकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । यस घटनाले बिमा दाबी गर्ने नाममा हुने योजनाबद्ध आगजनी जस्ता आपराधिक प्रवृत्तिहरू अझै पनि चुनौतीपूर्ण रूपमा विद्यमान रहेको तथ्य पुनः सतहमा ल्याएको छ ।





