जितपुरसिमरा, ४ मंसिर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा एमाले नेताहरूको स्वागत र विरोधका क्रममा बुधबार उत्पन्न तनाव बिहीबार पनि उस्तै गंभीर रुपमा जारी रह्यो । जेन–जी युवा समूहको विरोध प्रदर्शन क्रमशः उग्र हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार पुनः दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्म कर्फ्यु लागू गर्न बाध्य भयो । तर कर्फ्युको आदेश लागू हुँदाहुँदै पनि प्रदर्शनकारीहरू सडकमा उत्रिँदै गतिविधि अविराम रूपमा अघि बढाइरहे ।
बिहीबार प्रदर्शन तीव्र रूप लिन पुगेपछि सिमरा बजारस्थित प्रहरी बिटलाई आगजनी गरी क्षति पुर्याइएको छ । त्यस्तै, एमाले पार्टी कार्यालयका सामग्रीहरू बाहिर निकालेर प्रदर्शनकारीहरूले त्यसैलाई पनि जलाइदिएका छन् । दुवै पक्षबीचको झडपमा ४ जना जेन–जी युवाहरू र ६ जना प्रहरी गरी कुल १० जना घाइते भएका छन् । स्थिति नियन्त्रणभन्दा बाहिर जाँदा प्रहरीले ६ सेल अश्रुग्याँस प्रहार गर्नुपरेको र २ राउन्ड हवाई फायरिङसमेत गरिएको जनाएको छ । उता प्रदर्शनकारीले समेत प्रहरीले फर्किन नसक्ने गरी व्यापक ढुङ्गामुढा चलाएका छन् ।
बुधबार बिहान करिब १० बजे घटना सुरु भएको थियो । एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई स्वागत गर्न जाँदै गरेका एमाले कार्यकर्ता र उनीहरूको आगमनविरुद्ध सिमरा चोकमा भेला भएका जेन–जी समूहका युवाबीच हाताहात भएपछि परिस्थिति चर्किएको हो । झडप बढ्दै जाँदा आक्रोशित समूहले सिमरा विमानस्थलको मुख्य गेटसमेत तोडफोड गरी ढुङ्गा र सिसाका बोतल प्रहार गरेका थिए । त्यही घटनाक्रमपछि प्रशासनले बुधबार दिउँसो १२ः३० देखि राति ८ः३० बजेसम्म र त्यसपछिका दिन बिहीबार फेरि दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्म कर्फ्यु जारी गरेको थियो ।
झडपमा घाइते भएका जेन–जी बारा संयोजक सम्राट् (साइकुल) उपाध्यायले एमाले नेताहरूविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले जीतपुरसिमरा–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नं. ६ का वडाध्यक्ष कैमुद्दिन अन्सारीलाई पक्राउ गरेको छ । यी दुवै जनप्रतिनिधि एमालेबाट निर्वाचित हुन् । संयोजक उपाध्यायले आफूहरूको शान्तिपूर्ण विरोधमा एमाले समर्थकले आक्रमण सुरु गरेको आरोप लगाएका छन् । तर एमाले जीतपुरसिमरा उपमहानगर कमिटी अध्यक्ष त्रिलोकविक्रम शाहले लोकतन्त्रमा विरोधको अधिकार रहे पनि कार्यक्रम अस्तव्यस्त पार्ने, नेताहरूलाई कार्यक्रममै जान नदिने जस्ता क्रियाकलाप स्वीकार्य नहुने प्रतिक्रिया दिएका छन् ।
कर्फ्यु लागू भएपछि सिमरा बजार पूर्ण रूपमा ठप्प छ भने पूर्व–पश्चिम राजमार्गको सो खण्डमा चल्ने लामो तथा छोटो दूरीका सवारी साधनहरु समेत बन्द छन्। स्थानीय प्रशासनले सबै पक्षलाई संयम अपनाउन र संवादमै समाधान खोज्न आग्रह गरेको छ भने प्रहरीले अहिले स्थिति नियन्त्रणमा रहेको जनाएका छन् ।
प्रशासनले वार्ताको माहौल बनाएपछि आन्दोलन स्थगित
जेन–जी युवाहरूले राजमार्ग अवरुद्ध गर्दै थालेको प्रदर्शन प्रशासनसँगको प्रारम्भिक सहमति पछि आजका लागि स्थगित गरिएको छ । बुधवार भएको कुटपिट घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने प्रतिवद्धता र वार्ता बस्ने सहमति प्रदान गरेपछि जेन–जी समर्थकहरू पछि हटेका हुन् ।
जेन–जी समूहका समर्थक सौरभ चौगाईले सर्वसाधारणको दैनिकी प्रभावित नहोस् भन्ने उद्देश्यले आन्दोलन रोकेका बताएका छन् । उनका अनुसार, प्रशासनले वार्तामार्फत मागहरू सम्बोधन गर्ने आश्वासन दिएसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित गर्ने तयारी गरिएको हो । “बिहीबार नगरे शुक्रबार बिहान ९ बजेसम्ममा वार्ता हुँदै निष्कर्ष निकाल्ने प्रयास भइरहेको छ,” उनले बताए । वार्ता जिल्ला प्रशासन कार्यालय बारा वा इलाका प्रशासन कार्यालय सिमरामध्ये कुनै एक स्थानमा हुने संभावना रहेको जानकारी पनि उनले दिए ।
बिहान ११ बजेदेखि अवरुद्ध रहेको पथलैया–वीरगंज राजमार्ग अपराह्न करिब ४ बजेतिर पूर्ण रूपमा सञ्चालनमा फर्किएपछि सिमराको जनजीवन क्रमशः सामान्य अवस्थामा फर्किन थालेको छ । घटनाक्रम बुधवारबाट नै सुरु भएको थियो । एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत सिमरा विमानस्थलमा अवतरण गर्ने कार्यक्रम सार्वजनिक हुनासाथ जेन–जी समर्थित युवाहरू विमानस्थल क्षेत्रमा भेला भएका थिए । तर त्यही समयमा त्यहाँ पुगेका एमाले निकट युवाले जेन–जी समूहका युवामाथि कुटपिट गरेपछि स्थिति एकाएक तनावपूर्ण बन्दै गयो । दुवै पक्षबीच भएको तीव्र झडपका क्रममा विमानस्थल क्षेत्रमा समेत तोडफोड भएको थियो ।





