Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
22.1 C
Kathmandu

पर्सामा भूमिहीन दलित र सुकुम्बासीलाई लालपूर्जा वितरण सुरु, पहिलो चरणमा ४४ जनालाई प्रमाणपत्र

spot_img

वीरगंज,०४ असोज । भूमि समस्या समाधान आयोगले पर्सामा भूमिहीन दलित र सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गर्न सुरु गरेको छ। शनिबार सखुवा प्रसौनी गाउँपालिका वडा नं १ सथवलमा ४४ जना भूमिहीन दलित र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गरिएको छ।

कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र आयोगका अध्यक्ष तबरेज अहमदले संयुक्त रूपमा ३७ जना भूमिहीन दलित र ७ जना अव्यवस्थित बसोबासीलाई जग्गाको लालपूर्जा हस्तान्तरण गरे। सथवलमा दशकौंदेखि लालपूर्जा विना बसोबास गर्दै आएका उनीहरुलाई आयोगले जग्गाको स्वामित्व प्रमाणपत्र प्रदान गरेको छ।

आयोगका अध्यक्ष अहमदले मधेस प्रदेशमै पर्साबाट मात्रै लालपूर्जा वितरणको काम सुरु गरिएको जानकारी दिँदै भने, “दशैंपछि ठोरी गाउँपालिका वडा नं ४ का करिब १ हजार १९७ जना भूमिहीन दलित र सुकुम्बासीहरुलाई पनि लालपूर्जा वितरण गरिनेछ।”

उनका अनुसार आयोगले पर्सा जिल्लामा कुल ५ हजार १७८ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्ने लक्ष्य राखेको छ। वीरगन्ज महानगरपालिका, पर्सागढी नगरपालिका, ठोरी र सखुवा प्रसौनी गाउँपालिकाबाट यसका लागि आवेदन प्राप्त भएको छ।

आयोगले चार पालिकामा भूमिहीनहरुको लागत संकलन गरी प्रमाणीकरण पश्चात ३५ दिने सूचना जारी गरी जग्गाको नापतौल गरेको थियो। नापतौलको प्रतिवेदन पालिकामा पठाएपछि कार्यपालिकाले नामावली सिफारिस गरी लालपूर्जा वितरण प्रक्रिया अघि बढाएको छ।

लालपूर्जा वितरण कार्यक्रममा अध्यक्ष अहमदले भने, “मेरा कार्यकालमा यो वाचा पूरा हुनु मेरो जीवनकै सुखद पल हो।” उनले बाँकी ५ हजार १३४ जनालाई पनि छिट्टै लालपूर्जा वितरण गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यादवको अध्यक्षतामा वडा अध्यक्ष बासुदेव महत्तो थारु, आयोगका सदस्य सन्तोष पासवान लगायतको पनि उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once