छोराको शवको प्रतीक्षामा ३६ दिन, अन्ततः कुशको शव बनाएर परिवारले गर्‍यो दाहसंस्कार

spot_img

बारागढी (बारा), १६ असोज । रसुवा जिल्लामा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका बारागढी गाउँपालिका–१, पिपरा टोलका २० वर्षीय सुबोध शर्माको शव एक महिनाभन्दा बढी समयसम्म पनि फेला नपरेपछि परिवारले अन्ततः कुशको शव बनाएर दाहसंस्कार गरेको छ।

बाढी आएको ३६ दिनसम्म छोरा फर्किने वा शव भेटिने आशामा प्रतीक्षा गरेका परिवारजनले शुक्रबार हिन्दू संस्कारअनुसार कुशको शव बनाएर सुबोधको अन्तिम संस्कार गरेका हुन्। शव फेला नपरे पनि धार्मिक संस्कार पूरा गर्नुपर्ने बाध्यताका कारण परिवारले यस्तो निर्णय लिएको हो।

स्थानीय जातीय समुदायका व्यक्तिहरूको पहलमा सुबोधको ३६औँ दिनमा दाहसंस्कार गरिएको परिवारले जनाएको छ। बाढी आएको दिनदेखि नै सम्पर्कविहीन भएका सुबोधको अवस्था पत्ता लगाउन परिवारले लामो समयसम्म विभिन्न ठाउँमा खोजी गरे पनि कुनै ठोस जानकारी प्राप्त हुन सकेन।

मृतकका दाजु नवल शर्माका अनुसार परिवारले भाइको अवस्था पत्ता लगाउन एक महिनासम्म विभिन्न निकाय र स्थानमा धाए पनि सुबोधबारे कुनै जानकारी पाउन सकेन।

यसै क्रममा नेपाल प्रहरीले सार्वजनिक गरेको शव पहिचानसम्बन्धी वेबसाइटमा राखिएका तस्बिर हेर्दा काठमाडौंस्थित टिचिङ अस्पतालमा राखिएको एउटा शव सुबोधकै हुनसक्ने परिवारले पहिचान गरेको थियो। तर, उक्त शवलाई अन्य चार परिवारले समेत आफ्ना आफन्तको भएको दाबी गरेपछि पहिचानमा विवाद उत्पन्न भयो।

त्यसपछि शवको वास्तविक पहिचानका लागि डीएनए परीक्षण गर्नुपर्ने अवस्था आएको नवलले बताए। उनका अनुसार डीएनए परीक्षणका लागि सुबोधका बुवाको रगतसमेत दिइएको तीन साताभन्दा बढी भइसकेको छ। तर, अहिलेसम्म परीक्षणको नतिजा नआएकाले परिवारले सुबोधको शव बुझ्न पाएको छैन।

‘काठमाडौंस्थित टिचिङ अस्पतालमा गएर राखिएको तस्बिर हेर्दा हामीले आफ्नो भाइको शव पहिचान गरेका थियौँ । तर, त्यही शवलाई चार जना अन्य परिवारले पनि आफ्नो आफन्त भएको दाबी गरेका रहेछन् । त्यसपछि डीएनए परीक्षण गर्न भनियो । बुवाको रगतसमेत परीक्षणका लागि दिएको तीन हप्ताभन्दा बढी भइसक्यो, तर अहिलेसम्म शव पाएका छैनौँ,’ नवलले भने।

शव पाउने आशमा एक महिना, अन्ततः शवविहीन अन्तिम संस्कार

सुबोधको शव पाउने आशमा परिवारले एक महिनाभन्दा बढी समयसम्म विभिन्न निकाय धाइरह्यो। शवको पहिचान भएपछि छोराको अन्तिम संस्कार गर्न पाइने आशामा बसेका परिवारजनले डीएनए परीक्षण र प्रशासनिक प्रक्रियाका कारण अझै शव पाउन सकेका छैनन्।

बाढीमा बेपत्ता भएका तथा पछि फेला परेका शवलाई उद्धार गरी भरतपुरमा सरकारको पहलमा आधुनिक तरिकाबाट गाडेर राखिएको परिवारले जनाएको छ। सोही स्थानमा राखिएका शवमध्ये सुबोधको शवसमेत रहेको परिवारको भनाइ छ। तर, डीएनए परीक्षण पूरा नभएकाले उक्त शव परिवारको जिम्मा लगाइएको छैन।

सुबोधको शव बुझ्न उनका दाजु नवल भरतपुर पुगेका थिए। तर, भरतपुरस्थित जिल्ला प्रशासन कार्यालयले डीएनए परीक्षणको रिपोर्ट भेरिफाइ भएर आएपछि मात्रै शव परिवारलाई जिम्मा लगाउने जानकारी दिएपछि उनी शव नलिई घर फर्किन बाध्य भएका थिए।

शव पाउने निश्चितता नरहे पनि धार्मिक संस्कार लामो समयसम्म रोकिराख्न नसकिने भएपछि परिवारले शुक्रबार कुशको शव बनाएर सुबोधको दाहसंस्कार गरेको हो।

परिवारका अनुसार शुक्रबार दाहसंस्कार गरिएकाले त्यही दिनदेखि गणना गरी १३औँ दिनमा काजकिरिया गरिनेछ।

तीन महिनाअघि मात्रै रोजगारीका लागि रसुवा पुगेका थिए

सुबोध रोजगारीको सिलसिलामा तीन महिनाअघि मात्रै रसुवा पुगेका थिए। उनी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडअन्तर्गत सञ्चालित सेर्पा हाइड्रो कन्स्ट्रक्सन प्रालिमा टायल–मार्बलको काम गर्दै आएका थिए।

तर, गत भदौ १० गते रसुवा जिल्लामा आएको विनाशकारी बाढीपछि उनी एकाएक सम्पर्कविहीन भए। त्यसयता परिवारले उनको खोजी जारी राखेको थियो।

छोराको शव भेटिएला र अन्तिमपटक उनको मुख हेर्न पाइएला भन्ने आशामा परिवार एक महिनाभन्दा बढी समयसम्म प्रतीक्षामा रह्यो। विभिन्न स्थानमा खोजी गर्नुका साथै अस्पताल तथा प्रशासनिक निकायसम्म पुगेर परिवारले सुबोधको अवस्थाबारे जानकारी लिने प्रयास गर्‍यो।

पछि टिचिङ अस्पतालमा राखिएको शव सुबोधकै हुनसक्ने परिवारले पहिचान गरे पनि अन्य परिवारले समेत सोही शवमाथि दाबी गरेपछि पहिचान प्रक्रिया थप जटिल बन्यो। डीएनए परीक्षणका लागि परिवारबाट नमुना दिइएको लामो समय बितिसक्दा पनि रिपोर्ट नआएपछि शव हस्तान्तरण हुन सकेको छैन।

अन्ततः शव नै प्राप्त नभएको अवस्थामा परिवारले ३६औँ दिनमा कुशको शव बनाएर सुबोधको अन्तिम संस्कार गरेको छ।

सुबोधको घटनाले प्राकृतिक विपत्तिमा आफन्त गुमाएका परिवारले भोग्नुपरेको पीडा मात्र होइन, बेपत्ता व्यक्तिको शव पहिचान, डीएनए परीक्षण तथा शव हस्तान्तरणको प्रक्रियामा देखिने जटिलतालाई समेत उजागर गरेको छ। आफन्तको शव कहिले र कसरी प्राप्त हुन्छ भन्ने अनिश्चितताबीच परिवारले धार्मिक संस्कारसमेत शवविहीन अवस्थामा पूरा गर्नुपर्ने बाध्यता यस घटनाले देखाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once