काठमाडौं,२७ जेष्ठ । आरिफको संघर्षपूर्ण ८४ रनको मद्दतले नेपालले नेदरल्यान्ड्ससामू २३७ रनको मध्यम चुनौती प्रस्तुत गरेको छ । स्कटल्यान्डमा जारी आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाली टोलीले ५० ओभरमा ९ विकेट गुमाउँदै २३६ रन जोडेको हो ।
सुरुवाती पावरप्लेमै २ विकेट गुमाएको नेपालले त्यसपछि सम्हालिन प्रयास गरे पनि लगातार विकेट गुम्दा ठुलो स्कोर बनाउन सकेन । भीम सार्की र कप्तान रोहित पौडेलले ३५-३५ रन, ओपनर कुसल भुर्तेलले १८ र दीपेन्द्रसिंह ऐरीले १६ रनको योगदान दिए ।
नेदरल्यान्ड्सका तर्फबाट बलिङमा पल भान मिकेरेनले ४, माइकल लेभितले ३ र आर्यन दत्तले एक विकेट लिए । अब जवाफी ब्याटिङमा नेदरल्यान्ड्सले नेपाली ब्याटर बासिर अहमदको गल्तीका कारण १० रन बोनस पाउने छ । जसमा उसले अब २२७ रन थप जोड्नु पर्नेछ ।





