Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

गुप्तेश्वर गुफामा पर्यटक आगमनमा वृद्धि

spot_img

गण्डकी,२७ जेष्ठ । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ। नेपाल मात्र नभई भारतबाट कोटिहोममा आएका भक्तजनले पोखरास्थित विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गरेकाले आन्तरिक तथा बाह्य पर्यटनको संख्यामा वृद्धि भएको हो।

पोखरा महानगरपालिका–१७ विरौटास्थित सदाशिव सिद्देश्वर हरिहर मन्दिरको गुठी जग्गा मानव सेवा फउण्डेसनद्वारा गत वैशाखको १६ गतेदेखि आयोजना गरिएको कोटिहोमको नजिक पर्ने छोरेपाटनस्थित पर्यटकीय क्षेत्र गुप्तेश्वर महादेव गुफामा विगतको तुलनामा अहिले आन्तरिक तथा बाह्य पर्यटनको आगमन करिब १० प्रतिशतले वृद्धि भएको गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बाँस्तोलाले जानकारी दिए।

उनका अनुसार गत आर्थिक वर्षको चैत १७ गतदेखि जेठ २६ गतेसम्म ९३ हजार ७१६ पर्यटकले मन्दिरको अवलोकन गरेकामा चालु आवको सोही अवधिमा एक लाख एक हजार १४४ जनाले टिकट काटेर गुफाको अवलोकन गरेका छन्।पोखरा बाहिरबाट कोटिहोममा आउने भक्तजन अधिकांश गुफामा अवस्थित महादेवको दर्शन र मनोहर पातले छाँगो (डेभिजफल्स) को मनोरम दृष्यावलोकनमा आउने गरेकाले पर्यटकको संख्यामा वृद्धि भएको अध्यक्ष बाँस्तोलाले बताए।

विगतको तुलनामा यस अवधिमा सात हजार ४२८ बढीले गुफाको अवलोकन गरेका जनाउँदै उनले भने, ‘गुफामा पर्यटकको संख्यामा वृद्धि हुनु कोटिहोमको प्रभाव हो । यस अवधिमा भारतीय पर्यटकको पनि आकर्षण बढेको छ।’ जमिनको सतहबाट करिब १०० मिटर चट्टानबाट रसाएका पानीका थोपाले स्नान गर्दै केही तल झरेपछि गुफाभित्र फराकिलो स्थानमा अवस्थित महादेवको दर्शन गर्न पाइन्छ । शिव भगवान्लाई दाँहिने पार्दै १०० मिटरको दूरीभित्र पुगेपछि खुला ठाउँ छ।

अध्यक्ष बाँस्तोलाले भने, ‘पत्रे चट्टानमा विभिन्न देवदेवीका आकृति देखिनुका साथै सिद्धार्थ राजमार्गको प्राकृतिक पुलमुनिबाट सिँधा उभिएर देखिने पातले छाँगोसँगै तलाउमा देखिने झरनाको प्रतिविम्बले पर्यटकलाई मनमोहक बनाउने गरेको छ भने कोटिहोमले गुफाको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याएको छ।’

गुफाभित्र अवस्थित महादेवको दर्शन गर्दा मनोकांक्षा पूरा हुने जनविश्वासका साथ दर्शनार्थी पटक–पटक यहाँ आउने गरका उनले बताए। उनका अनुसार गुफा २०५० सालमा पत्ता लागेपछि प्रचारप्रसारमा भएको हो। कोटिहोमका माध्यमबाट गुप्तेश्वर गुफासँगै रहेको पातले छाँगो, तालबाराही, विन्ध्यवासिनी भन्दिर, पुम्दीकोट शिव मूर्तिलगायत धार्मिक तथा फेवाताल, सराङकोट, शान्तिस्तूपालगायत विभिन्न पर्यटकीयस्थलसहित पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको पर्यटन व्यवसायीको भनाइ छ।

विश्व शान्तिको कामनासहित पोखरालाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथद्वारका रूपमा परिचित गराउँदै गण्डकी प्रदेशका शास्त्रवर्णित सम्पूर्ण धार्मिक क्षेत्र, तीर्थस्थल, मठमन्दिरको महत्वलाई विश्वभर परिचित गराउने लक्ष्य रहेका मानवसेवा फाउण्डेसन नेपालका अध्यक्ष एवं महायज्ञ संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्ति महाराजले जानकारी दिए।

उनका अनुसार कोटिहोमका माध्यमबाट धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा पुर्‍याउँदै पोखराको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वासका साथ वैदिक ज्ञान, धर्म परम्परालाई आधुनिक समाजमा पुनःस्थापित गर्दै वैज्ञानिक, सामाजिक र आध्यात्मिक पक्षको उजागर गर्न सहयोग पुगेको छ।

मन्दिरको २९ रोपनी १२ आनासहित आसपासका झण्डै ८० रोपनी जग्गाभित्र १०० कुण्ड निर्माण गरिएको छ। त्यसमा आचार्य, ब्राह्मणसहित ३०० जनाले जौ, तिल, चामल, घ्यू र अन्य द्रव्य मिश्रित चरु तयार गरी गत वैशाख १७ गतेदेखि सुरु गरिएको कोटिहोमको हवन आज सम्पन्न भएको महायज्ञ संकल्पकर्ता महाराजले जानकारी दिए। डेढ महिनासम्म सञ्चालन भएको कोटिहोममा लाखौँ भक्तजनले सहभागिता जनाउनुका साथै १० करोडभन्दा बढी रकम संकलन भएको कोटिहोम सहइञ्चार्ज युवक लामिछानेले जानकारी दिए।

भागवत् मञ्जली राधिका दासी र कृष्णमूर्ति सम्मानित
पोखरा–१७ शीतापाइलास्थित भागवत् मञ्जली राधिका दासीलाई सदाशिव सिद्देश्वर हरिहर मन्दिर व्यवस्थापन समितिले कोटिहोम वाचिका भागवत् मञ्जली राधिका दासी र मानव सेवा फाउण्डेशसनका अध्यक्ष एवं महायज्ञ संकल्पकर्ता महाराजलाई सम्मान गरेको छ।

विरौटास्थित कोटिहोमका लागि गुठी जग्गा उपलब्ध गराएको मन्दिर व्यवस्थापन समितिले कोटिहोमका माध्यमबाट पौराणिक मन्दिरको उजागर गर्न महत्वपूर्ण सहयोग पुगेको भन्दै एक कार्यक्रमका बीच सम्मानपत्रले सम्मान गरेको हो। मन्दिर परिसरमा आयोजित कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीले उनीहरूलाई सम्मान गरेका हुन्।

सो अवसरमा तीन जना पण्डितद्वारा संगीतको लयमा महाआरतीसमेत प्रस्तुत गरिएको थियो। उक्त मन्दिर परिसरमा निर्माण गरिएको मुख्य कुण्डमा विधिपूर्वक हमन सञ्चालन भएको थियो। विसं १८६४ मा मन्दिरको पूजा सञ्चालनका लागि व्यवस्था गरिएको राजगुठीसहितको लालमोहर अहिले पनि सुरक्षित रहेको अध्यक्ष शर्माले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once