काठमाडौं,२२ जेष्ठ । भारत भ्रमण पूरा गरी स्वदेश फर्किनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अयोध्यास्थित राम मन्दिरमा पुगेर दर्शन तथा पूजा गरेका छन्।
उनी पत्नी निकिता पौडेल, पार्टी सहमहामन्त्री विपिन कुमार आचार्य, प्रतिनिधि सभा सदस्य दीपक बोहोरा लगायतका टोलीसहित अयोध्या पुगेका थिए। टोलीले मन्दिरमा पूजा–अर्चना गर्दै धार्मिक दर्शन गरेको हो। भारत भ्रमण सम्पन्न गर्दै रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल आजै काठमाडौं फर्किने कार्यक्रम रहेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
यसअघि उनी भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, गृहमन्त्री अमित शाह तथा भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीन लगायत उच्चस्तरीय नेताहरूसँग भेटवार्ता गरेका थिए। त्यस्तै, उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेट गरेका थिए। भ्रमण टोलीमा रास्वपा सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल तथा प्रदीप आचार्य सहभागी रहेका थिए।
रास्वपाका अनुसार सभापति लामिछाने भारतको औपचारिक भ्रमण सकेर आज जेठ २२ गते स्वदेश फर्किँदै छन्। यसैबीच, भ्रमण समापनसँगै परराष्ट्रमन्त्री शिशिर खनाल आजै भारतको नयाँदिल्ली प्रस्थान गर्दै छन्। भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा हुने उक्त भ्रमणका क्रममा उनले समकक्षीसहित भारतका उच्चपदस्थ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा नेपाल–भारतबीचको सीमा समस्या लगायत द्विपक्षीय हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।






