काठमाडौं,२१ जेष्ठ । राष्ट्रियसभाका सांसदहरूले नवगठित महिला समन्वय समितिले लैङ्गिक समानता, महिला सशक्तीकरण र महिला अधिकारसँग सम्बन्धित सवाललाई संसद्भित्र थप प्रभावकारी रूपमा उठाउनुपर्नेमा जोड दिएका छन्।
सांसदहरूले आज राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारीसँग भेट गरी नीतिगत बहसलाई सशक्त बनाउन समितिले संसद्भित्र महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखेका हुन्। उनीहरूले समितिको कार्यक्षेत्र, प्राथमिकता, कार्ययोजना तथा आगामी कार्यविधि निर्माणका सम्बन्धमा गम्भीर गृहकार्य आवश्यक रहेको बताए।
सोही अवसरमा उपाध्यक्ष भण्डारीले समितिको गठन र सदन सञ्चालनका लागि आवश्यक सहकार्य तथा समन्वयमा आफू सदैव प्रतिबद्ध रहने विश्वास व्यक्त गरिन्।
उनले महिला समन्वय समितिलाई केवल औपचारिक संरचनाका रूपमा सीमित नराखी महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्चका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याइन्।





