जनकपुर,२९ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपाल, धनुषाको अध्यक्षमा पुनः पशुपति यादव निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न प्रथम जिल्ला अधिवेशनअन्तर्गतको निर्वाचनमा उनले आफ्ना निकटतम प्रतिस्पर्धी शत्रुधन यादवलाई ४ मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन् । पशुपति यादवले १६८ मत प्राप्त गर्दा शत्रुधन यादवले १६४ मतमा सीमित रहे ।
उपाध्यक्ष पदमा दिनेश प्रसाद यादव र ललित मण्डल विजयी भएका छन्। दिनेशले १८० र ललितले १५० मत प्राप्त गरेका थिए। उनीहरूका प्रतिस्पर्धी रामशंकर पासवानले १२४ र अब्दुल मनाङ्गले ७७ मत मात्र प्राप्त गरे ।
सचिव पदमा रामनारायण कापडी ९७ मतसहित विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी उमेश महतोले ७० मत पाए । उपसचिव पदमा राम विहारी यादवले १६० र शशिचन्द्र यादवले १५७ मत प्राप्त गरी विजयी भए ।
त्यस्तै, कोषाध्यक्ष पदमा सुजिता यादव १५७ मत प्राप्त गर्दै निर्वाचित भइन् । सदस्य पदका लागि मतगणना भने अझै जारी रहेको निर्वाचन समितिले जनाएको छ।





