सरकारले सार्वजनिक गर्‍यो दलित समुदायको आधिकारिक परिभाषा र थर सूची

spot_img

काठमाडौं,०९ असोज । सरकारले दलित समुदायको आधिकारिक परिभाषासहित उनीहरूले प्रयोग गर्ने थर तथा उपथरको विस्तृत सूचीकरण गरेको छ ।

राष्ट्रिय दलित आयोगको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको दलित समुदायको परिभाषा तथा थर सूचीकरणसम्बन्धी विवरण महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार नेपाल राजपत्रमा प्रकाशन गरेको हो । मन्त्रालयले आफ्नो वेबसाइटमार्फत समेत राष्ट्रिय दलित आयोगबाट सिफारिस भएको दलित समुदायको थर सूचीसम्बन्धी सूचना सार्वजनिक गरेको छ ।

राजपत्रमा विगतमा वर्णाश्रम व्यवस्थाका आधारमा अछुतको व्यवहार गरिएका तथा आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक, शैक्षिक, रोजगारीलगायत राज्यका समग्र क्षेत्रमा उत्पीडन, अपमान र बहिष्करणमा पारिएका समुदायलाई दलित समुदायका रूपमा परिभाषित गरिएको छ । त्यस्तै, श्रम, सीप र कलाका माध्यमबाट राज्य निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएका ऐतिहासिक श्रमजीवी समुदायलाई समेत दलित समुदायअन्तर्गत समेटिएको छ ।

सरकारले दलित समुदायलाई मुख्यतः पहाडी दलित र मधेसी दलित गरी दुई भागमा वर्गीकरण गरेको छ । दुवै समूहअन्तर्गत विभिन्न समुदायले प्रयोग गर्ने थर तथा उपथरहरूको विस्तृत विवरणसमेत राजपत्रमा समावेश गरिएको छ ।

पहाडी दलितअन्तर्गत विभिन्न समुदाय

पहाडी दलितअन्तर्गत विश्वकर्मा, परियार, मिजार, वादी, गन्धर्व, च्यामे र पोडे समुदायलाई समेटिएको छ । विश्वकर्मा समुदायअन्तर्गत कामी, लोहार, सुनार, टमटा, गदाल, वड, बर्देवा, रसाइली, विश्वकर्मा, पोर्तेल, दियालीलगायत ३४८ थर सूचीकृत गरिएको छ । परियार समुदायअन्तर्गत दमाई, दर्जी, सूचिकार, नगर्ची, तिरुवा, बैज, सुन्दास, परियारलगायत २७१ थर राखिएका छन् । त्यस्तै, मिजार समुदायअन्तर्गत सार्की, चमार, रोक्का, तोलाङ्गे, भुल, मंगराती, गोतामेललगायत २२९ थर समावेश छन् । वादी समुदायअन्तर्गत नेपाली, बैकार, भाट, रावल, वैश्य, बादीलगायत ३७ थर तथा गन्धर्व समुदायअन्तर्गत गायन, गायक, कालोपौडेल, मेघनाथ, सुर, रसाइलीलगायत १६ थर सूचीकृत गरिएको छ । च्यामे समुदायअन्तर्गत कुचीकार, च्यामेखल, च्यामे र सुइफर तथा पोडे समुदायअन्तर्गत जलारी, जालनधर, देउला, पुजारी र पोडे थर समावेश गरिएको छ ।

गैरदलितसँग मिल्ने थरको पनि छुट्टै सूची

राजपत्रमा दलित समुदायले प्रयोग गर्ने तर गैरदलित समुदायसँग समेत मिल्ने थरलाई छुट्टै सूचीकरण गरिएको छ । यसअन्तर्गत खड्का, अधिकारी, थापा, पाण्डे, खनाल, शर्मा, दाहाल, पोखरेललगायत २१४ थर सूचीकृत गरिएको छ । मधेसी दलितमा २१ जाति तथा समुदाय

सरकारले मधेसी दलितअन्तर्गत २१ वटा जाति तथा समुदाय समेटेको छ । यसमा चमार, मुसहर, दुसाध (पासवान), तत्मा, खत्वे, धोबी, बाँतर, कोरी, डोम, खटिक, नटुवा, ढाँढी, चिडिमार, ककैहिया, कलर, धन्कार, पासी, मेस्तर, सरभङ्ग र उराँवलगायत समुदाय रहेका छन् ।

सरकारले राजपत्रमार्फत दलित समुदायको परिभाषा र थर–उपथरको विस्तृत सूची सार्वजनिक गरेसँगै दलित समुदायको पहिचान तथा सूचीकरणलाई औपचारिक आधार प्रदान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once