Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
18.1 C
Kathmandu

मौसम परिवर्तनसँगै बीरगन्जका स्वास्थ्य संस्थामा बिरामीको चाप

spot_img

बीरगन्ज,१६कार्तिक । मौसममा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र डेङ्गीका बिरामीको चाप बढेको छ । बिहान तथा बेलुका जाडो र दिउँसो हुने गर्मीका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी निकै बढेका छन् ।

बीरगन्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी, बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निकै बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

दुधे बालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतको प्रकोपबाट पीडित भएका छन् । पछिल्लो केही दिनयता आएको मौसमी परिवर्तनले अस्पतालमा बिरामीको चाप बढेको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले बताए ।

मौसममा आएको परिवर्तनका कारण रुघाखोकी, ज्वरो, निमोनियालगायत बिरामी दैनिक करिब २० देखि २५ जनासम्म उपचारका लागि आउने गरेको उनको भनाइ छ । यस्तै पछिल्लो केही दिनयता दैनिक चार–पाँच जनासम्म डेङ्गु सङ्क्रमित बिरामी उपचारका लागि आउने गरेको प्रवक्ता डा. सिंहको भनाइ थियो ।

उनले अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले शय्याको अभाव भएको र भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको बताए ।

यसैबीच, बढ्दो डेङ्गु सङ्क्रमणलाई दृष्टिगत गरी बीरगन्ज महानगरपालिकाले ‘खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिएको छ । पछिल्लो समय बीरगन्ज महानगर क्षेत्रमा डेङ्गु सङ्क्रमण बढ्दै गएपछि महानगरपालिकाले डेङ्गु सार्ने लामखुट्टे र त्यसको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ ।

अभियानका क्रममा महानगरपालिकाले डेङ्गु सङ्क्रमणका लागि विभिन्न स्थानमा जमेका पानी सफा गर्ने, स्प्रे गर्ने र बीरगन्ज भित्रिने यात्रुबाहक बसदेखि अन्य सवारी सवारीसाधनमा स्प्रे गर्न थालिएको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once