काठमाडौँ,४ कात्तिक । लगातार तीन खेल जित्दै घरेलु टोली नेपालले त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको फाइनलमा स्थान सुरक्षित गरेको छ ।
तेस्रो खेलमा हङकङलाई ७९ रनले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो । यसअघि पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेट तथा हङकङलाई ६ विकेटले पराजित गरेको थियो ।
आजको खेलमा २ सय १४ रनको विशाल लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रनमात्र बनाउन सक्यो ।
हङकङका लागि अन्सुमन रथले ४५ तथा आइजाज खानले २५ रन बनाए ।
नेपालका लागि करण केसी, सोमपाल कामी र ललित राजवंशीले २-२ तथा प्रतिश जिसी र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट हात पारे ।
यसअघि मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनाए ।
नेपालका लागि कुशल मल्लले ४१ बलमा ९ छक्का र ३ चौकाको मदतमा ९२ रन बनाए । दिपेन्द्र सिंह ऐरीले ३४ बलको सामना गर्दा ६ चौका र २ छक्का हिर्काएर ५७ रनको योगदान गरे ।
आशिफ २० रन, कप्तान रोहित पौडेल ११, सोमपाल ८ रन तथा कुशल २ रनमा आउट भए । हङकङका मोहम्मद गजानफर र हारुन अर्शदले २-२ तथा आयुश शुक्ला र आइजाज खानले एक-एक विकेट हात पारे ।





