काठमाडाैं०१ कार्तिक । लेग स्पीनर मौसम ढकालले राष्ट्रिय टिममा डेब्यू गरेका छन् ।
बुधबारदेखि काठमाडौंमा सुरु भएको टी–२० त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपालले यूएईको सामना गर्दा ढकालले डेब्यू गरेका हुन् ।
प्रतियोगिता सुरु हुनुअघि राष्ट्रिय टिमका स्पिनर सन्दीप लामिछानेले नाम फिर्ता लिएका थिए । यूएईविरुद्धको बुधबारको खेलमा मौसमले सन्दीपकै स्थान लिए । बुधबारको खेलमा एसियाडमा भारतविरुद्ध खेलेको टोलीमा एक मात्र परिर्वतन थियो, त्यो हो सन्दीपको स्थानमा मौसम ।
उनलाई पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले डेब्यु क्याप दिएका थिए । २ ओभर बलिङ गर्ने अवसर पाएका उनले १४ रन खर्चिए ।
गत वर्ष कात्तिकमा सम्पन्न भएको प्रधानमन्त्री कपमा इमर्जिङ खेलाडीको रुपमा घोषित भइसकेपछि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा आउने मौका पाएका थिए ।
तर डेब्यूका लागि भने उनले लामो समय कुर्नुपर्यो । ‘नेपालको लागि खेल्ने सपना पूरा भएको छ’, मौसमले डेब्यू खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘एकदमै राम्रो अनुभव भयो । मैले खेल्न अनुभव पाएँ, अझै राम्रो हुन सक्थ्यो ।’
उनी नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गर्ने ४४ औं खेलाडी हुन् । कप्तान रोहितकुमार पौडेलले पनि पहिलो खेलमै राम्रो प्रदर्शन गरेको भन्दै मौसमको तारिफ गरे ।
लामो समयदेखि टिमसँगै प्रशिक्षण गरिरहेको उनले नागपुरमा भएको प्रशिक्षणमा राम्रो बलिङ गरेपछि त्रिकोणात्मक श्रृंखलामा अवसर दिएको भन्दै उनले भने, ‘अब यो लेभलमा खेल्न डिजर्भ गर्छ जस्तो लागेपछि खेलाएको हो ।’





