• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), १७ असोज । हिन्दुहरुको महानपर्व दशैँ नजिकीदै गर्दा वीरगंजका बजारहरुमा भने खासै चहलपहल देखिएको छैन । विगतमा चाडपर्वको एकमहिना अघिबाट ग्राहकले भरिभराउ हुने मुख्य बजार यतिबेला सुनसान बनेको कारण व्यापारीहरु फुर्सदिला भएका छन् । कोभिड महामारी लगतै आर्थिक संकटबाट तग्रिन नपाउदै बढदो महंगीको कारण नेपालीहरु थप मारमा छन ।
मुलुकको आर्थिक नगरीको रुपमा चिनिने वीरगंज बजार चाडवाडको बेला पनि सुनसान छ । वर्षभरी ग्राहकको भिडले चहलपहल हुने गरेको वीरगंज बजारमा यतिबेला दशैँको मुखमा पनि ग्राहकको चहलपहल नहुँदा उद्योगी व्यवसायी निरास भएका छन् । कोरोना महामारीबाट थलिएको अर्थतन्त्र विस्तारै लयमा फर्कन नपाउँदै रुस युक्रेनको युद्धको कारण मुलुकमा थप आर्थिक संकट उत्पन्न भएको छ । जसकारण उपभोक्तहरुको क्रयशक्ति कम हुँदै गएकोले यसको नकारात्मक असर प्रत्यक्षरुपले वीरगंज बजारमा परेको छ ।
सरकारले मुलुकमा आर्थिक संकट उत्पन्न नभएको दाबी गरेपनि दिन प्रतिदिनको व्यापारघाटाले उद्योगी व्यवसायीले बैंकको ऋण तिर्न सकेका छैन्न । चाडवाडको समयमा थोरै भएपनि व्यापार हुने आस गरेका व्यापारीहरुले दशैँ आउन केहीदिन बाँँकी रहदा समेत बजारको अवस्थामा सुधार नआएपछि केहीले पसल खाली गरेका छन् भने केहीले आफ्नो पसल ब्रिकीमा राखेका छन् ।
उनीहरुले व्यापार नभएको कारण महिनौदेखि साहुलाई भाडा तिर्न नसकेको गुनासो गरेका छ्न । वीरगंजको माईस्थानमा कपडा पसल संचालन गर्दै आएका व्यापारी अनिलकुमार गुप्ताले पसलमा ग्राहक आउनै छाडेको बताए । उनले महंगीका कारण ग्राहकहरु किनमेलका लागि रौक्सौल जाने गरेको गुनासो गरे । उनले यही अवस्था रहे, आगामी दिनमा पसल बन्द गरी काम खोज्न तर्फ लागी पर्ने बताए ।
यस्तै दैनिक उपभोग्य बस्तुको मूल्य आकाशिदा उपभोक्ताको भान्सा नराम्ररी प्रभावित भएको छ । मन्दीको कारण खाद्य सामाग्रीमा भएको मूल्यवृद्धिले आफूहरु थप मारमा परेको यहाँका स्थानीयहरुले बताएका छन् । विगतका चाडपर्वको बेला खुसीको माहोल हुने गरेकोमा यसपटक आफूहरुमा कुनै उत्साह नथपिएको उनीहरुको भनाई छ । भुकम्पदेखि विभिन्न आन्दोलनको सामना गरेको वीरगंजले यस्तो अवस्था कहिलै नदेखेको भन्दै यहाँका उद्योगीहरु चिन्तित भएका छन् ।
सरकारको गैरजिम्मेवारीपन र राष्ट्र बैंकको गलत नीतिले उद्योगी व्यवसायीहरु मारमा परेको वीरगञ्ज उद्योग वाणिज्य संघका अधयक्ष अनील अग्रवालले जानकारी दिए । उनले बारा–पर्सा औद्योगिक करिडोरमा रहेका ९० प्रतिशत उद्योगहरु बन्द हुने अवस्थामा आउँदा समेत सरकार मुखदर्शक भएको गुनासो गरे । बैंकको चर्काे ब्याजदर र उद्योग व्यापार ठप्प भएको कारण कर्मचारीलाई तलब दिन समेत दिन नसक्ने अवस्थाले अधिकांश उद्यागीहरुले रोजगारी कटौती गर्नुपरेको वीउवासंघका अध्यक्ष अग्रवालको भनाई छ ।
यता वीरगंज महानगरपालिकाले वीरगंजको बजारलाई चलायमान बनाउन घटस्थापनादखि ५ दिनसम्म रात्रि बजार संचालन गर्ने भएको छ । वैशाख देखि प्रत्येक महिनाको अन्तिममा संचालन गर्दै आएको रात्रि बजार गर्मीका कारण स्थगीत भएकोमा चाडपर्वलाई लक्षित गर्दै पुन संचालनमा ल्याउने भएको छ । यसले केहि हदसम्म स्थानीय व्यवसायीलाई राहत पुग्ने विश्वास लिएको छ ।





