Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
20.1 C
Kathmandu

मुख्यमन्त्री र अर्थमन्त्रीबिचको विवादले कर्मचारी तथा सांसदले पाएनन् तीन महिनादेखि तलब

spot_img

जनकपुर,१० असाेज । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव र अर्थ मन्त्री संजय यादवबिचको विवादका कारण त्यहाँका कर्मचारी तथा प्रदेशसभा सदस्यले तीन महिनादेखि तलब पाएका छैनन् । प्रदेश सभा सचिवालयका एक कर्मचारीले भने, ‘अर्थ मन्त्रालयले तलब निकासाका लागि अहिलेसम्म स्वीकृत नै दिएको छैन, त्यही भएर साउनदेखि तलब खुवाउन सकेको छैन ।’

जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवं प्रदेश सभा सदस्य मनिष सुमनले आफूले तीन महिनादेखि तलब नपाएको बताए । तर के कारणले तलब नदिएको भन्नेबारे बुझ्न नपाएको उनको भनाइ छ ।

जनमत पार्टीका महासचिव एवं मधेस सरकारका श्रम तथा यातायात मन्त्री चन्दनकुमार सिंहले अर्थ मन्त्रालयको ढिलासुस्तीका कारण तलब पाउन समस्या भइरहेको बताए । अर्थ मन्त्रालयको अख्तियारी खोजेका कारण तलब खुवाउन समस्या उत्पन्न भएको उनको भनाइ छ । यसअघि त्यस्तो अख्तियारी खोज्ने नगरिएको उनले बताए ।

प्रदेश सभा सदस्य उपेन्द्र महतोले पनि तीन महिनादेखि तलब नपाएको बताए ।

यसरी कर्मचारी र प्रदेश सभा सदस्यले तलब नपाउनुको मुख्य कारण मुख्यमन्त्री र अर्थमन्त्रीबिचको द्वन्द्व नै हो । अर्थमन्त्री संजय यादवले वितरण गरेको कार्यक्रम तथा योजनाको बारेमा छानबिन गर्न मुख्यमन्त्री सरोज यादवले प्रदेश सभा सदस्य उपेन्द्र महतोको संयोजकत्वमा संसदीय उच्चस्तरीय छानबिन समिति गठन गरेपछि दुई जनाको बिचमा द्वन्द्व बढेको स्रोतले दाबी गरेको छ ।

स्रोतका अनुसार मुख्यमन्त्री र अर्थमन्त्रीबिच बोलचाल समेत छैन । मुख्यमन्त्रीसँगको द्वन्द्वका कारण नै अर्थमन्त्री संजयले रकम निकासा रोकेको दाबी कर्मचारी तथा प्रदेश सभा सदस्यहरुले गरेका छन् । ‘दसैँ आइसक्यो तर तीन महिनादेखि तलब पाएको छैन, मुख्यमन्त्री र अर्थमन्त्रीको द्वन्द्वका कारण तलब पाउने टुङ्गो छैन,’ प्रदेश सभा सचिवालयका एक कर्मचारीले भने ।

मधेस प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले तलब पठाउने प्रक्रिया सुरु भइसकेको बताए । एकदुई दिनमै सबैको तलब जाने उनको भनाइ छ । उनले भने, ‘केही प्राविधिक समस्या थियो, त्यो समाधान भइसकेको छ, अब सबै कर्मचारी तथा सांसदले तलब पाउनुहुन्छ ।’

साउन ३१ गते प्रदेश सभाको अधिवेशन अन्त्य भएको थियो । हालसम्म प्रदेशसभाको बैठक आह्वानको कुनै छाँटकाँट छैन । प्रदेश सभा सदस्यहरुका अनुसार सरकारले बैठक आह्वानमा चासो नै लिएको छैन ।

पुसदेखि असारसम्म मात्र प्रदेशसभाका ३६ वटा बैठक बसेको सचिवालय बताउँछ । साउनदेखि यता बैठक बस्न सकेको छैन । यसमा पनि मुख्यमन्त्री र अर्थमन्त्रीको आपसी द्वन्द्व रहेको प्रदेश सभा सदस्यहरुको दाबी छ । साभार राताेाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once