वीरगंज । पाँच दलीय गठबन्धनका नेता र सरकारका मन्त्रीहरुलाई विश्वप्रसिद्ध बाराको गढीमाइ मन्दिरसँगै महागढीमाई नगरपालिका क्षेत्र प्रवेश गर्नमा जनप्रतिनिधीले निषेध लगाएका छन् । महागढीमाई नगरपालिकाका प्रमुख (मेयर) उपेन्द्रप्रसाद यादवले बुधबार दिउँसो आफ्नो अधिकारिक सामाजिक सञ्जाल फेसबूक पेजबाट पोष्ट लेख्दै महागढीमाई नगरपालिका र यस नगरपालिकामै पर्ने गढीमाई मन्दिरमा गठबन्धन दलका नेता र संघीय सरकारका मन्त्रीहरुलाई प्रवेश निषेध गरिएको बताएका हुन् ।
फेसबूक पोष्टमा उनले लेखेका छन् – ‘बारा जिल्ला क्षेत्र नम्बर २ मा महागढीमाई नगरपालिकाअन्तर्गत श्री गढीमाई मन्दिरको प्रांगणमा तथा यस नगरपालिका क्षेत्र भित्र पाँच दलिय गठबन्धनका नेतागण तथा मन्त्रीज्युहरूको प्रवेश निषेधित गरिएको कुरा सबैमा जानकारि गराउन चाहन्छु । धन्यवाद ।’ बारा क्षेत्र नम्बर २ मा बैशाख १० सम्पन्न उपनिर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई जिताउन अहोरात्र खटिएका मेयर यादवले बुधबार सामाजिक सञ्जालमा यस्तो पोष्ट गरिएपछि यसले चौतर्फी चर्चा पाएको छ ।
२०७९ बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा महागढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएर यादव मेयरमा निर्वाचित भएका थिए । यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमापनि कांग्रेसबाटै उनी मेयरमा निर्वाचित भएका थिए । महागढीमाई नगरपालिकामा सङ्घीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नपठाएको आक्रोशमा मेयर यादवले महागढीमाइ नगरपालिका क्षेत्र र गढीमाई मन्दिरभित्र गठबन्धन दलका नेता र मन्त्रीहरुलाई प्रवेश निषेध गरिएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका हुन् ।
उक्त पोष्टमा मेयर यादव आफैले कमेन्ट गर्दै लेखेका छन् – ‘नगरपालीकामा प्रमुख प्रशासकीय अधिकृत नभएको तीन महिना बितिसक्यो । अहिलेपनि अत्तोपत्तो छैन । यसको कारणले नगरपालीकाका सम्पूणर् कामकाज बन्द हुनका साथै कर्मचारीलगायत स्थानिय बासीहरुको जीवन कष्टकर हुने भएको अवस्था छ । महागढीमाई नगरपालीकाको विकासको लागि गठबन्धनका नेता र मन्त्रीज्यूहरुले वाचा गरेपनि अहिलेसम्म हाकिम नपठाएर विजोगको अवस्था सृजना भएकोले आज म यो कदम उठाउन बाध्य भएको छु ।’
मेयर यादवकाअनुसार गत फागुनको सुरुमै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तफा सरुवा भइ अन्त गएपछि महागढीमाई नगरपालिकाको कार्यालय तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहिन् बनेको छ । मन्त्रालयले अर्को प्रमुख प्रशासकीय अधिकृत नपठाइदिँदा नगरपालिकाका कर्मचारीहरुले तलबसमेत खान नपाएको, आर्थिक देखि प्रशासनिक कामहरु ठप्प नै भएको, सेवाग्राहीहरुको काम नहुँदा कर्मचारी र जनप्रतिनिधीले गालीगलौज सुन्नु परेको गुनासो मेयर यादवको छ । प्रमुख प्रशासकिय अधिकृतका लागि मन्त्रालयमा आफू तीन महिनादेखि धाइरहेको भएपनि आश्वासन मात्र पाएको तर हालसम्म प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नआएको मेयर यादवले बताए । यादवले भने, ‘मन्त्रालयमै धाएर पटकपटक ताकेता गर्दा गर्दै थाकेपछि विकल्प् नदेखिएपछि बाध्य भएर बुधबार फेसबूकमा यस्तो स्टाटस पोष्ट गरेको हुँ ।’





