वीरगंज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पर्साको पोखरिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको माग गर्दै बुधबार ज्ञापनपत्र बुझाएको छ । नगरपालिका कार्यालय करिब १ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन हुदाँ कार्यालयका आर्थिक कारोबार ठप्प भएको र यसले भौतिक पूर्वाधार निर्माणलगायतका कामकाजमा असर परेको भन्दै लोसपाले ज्ञापनपत्र बुझाएको हो ।
लोसपाका नेता निजामुद्धिन समानी नेतृत्वको टोलीले नगरपालिकाको कार्यालयमा पुगेर निमित्त प्रमुख प्रशासकीय अधिकृत विजय झालाई ज्ञापनपत्र बुझाएको थियो । नेता समानीकाअनुसार नगरपालिका कार्यालयका यसअघिका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीको सरुवा भएयता सङ्घीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले अर्को प्रमुख प्रशासकीय अधिकृत पठाएको छैन । जसका कारण नगरपालिका कार्यालयको आर्थिक काराबार नै ठप्प छ । आर्थिक कारोबार ठप्प हुँदा नगरपालिकाबाट हुने भौतिक पूर्वाधार निर्माणका कामहरु रोकिएको, नयाँ योजनाहरुको सम्झौता हुन ननसकेको अवस्था छ, पोखरिया अस्पतालमा औषधी सकिएको औषधी खरिद भइरहेको छैन, सामाजिक सुरक्षा भत्ता वितरण पनि रोकिएकोलगायतका समस्याहरु रहेको समानीले बताए । त्यसका कारण यथाशीघ्र प्रमुख प्रशासकीय अधिकृत नगरपालिका कार्यालयमा पठाइदिन आग्रह गर्दै बुधबार ज्ञापनपत्र बुझाइएको समानीले बताए ।





