वीरगञ्ज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले बारा निर्वाचन क्षेत्र नम्बर २ मा गठबनधनका साझा उम्मेदवार उपेन्द्र यादवलाई जिताउन बाराका सम्पूर्ण नेता कार्यकर्ता एकजुट भएर इमान्दारीताका साथ लागेको बताएका छन् । कांग्रेसको गढ रहेको बाराका सम्पूर्ण कांग्रेसी नेता कार्यकर्ता एकजुट भएर लागेका कारण यादवको जित निश्चित रहेको चौरसियाको दावी छ ।
सोमबार बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ मा जसपाका राष्ट्रिय अध्यक्ष एवम् उम्मेदवार उपेन्द्र यादवसँगै चुनावी घरदैलोमा हिडेका पूर्व राज्यमन्त्रीसमेत रहेका चौरसियाले भने, ‘यसअघि रुष्ट भएका कांग्रेसी नेता कार्यकर्ता पनि अहिले उपेन्द्र जीलाई जिताउन एकजुट भएर दिनरात खटिरहेका छन्, काँग्रेस मात्र होइन पाँच दल भित्रका सबै दलका नेता कार्यकर्ता पनि इमान्दारीपूर्वक लागेकाले उपेन्द्र जीको जित सुनिश्चित छ ।’ उपेन्द्र यादवका कारण बारा निर्वाचन क्षेत्र नम्बर २ को मात्र नभइ समग्र बारा जिल्लाकै विकास र समृद्धिको यात्रा अगाडि बढ्ने भएका कारण यादवलाई संसद्मा पुर्याउनु अहिलेको आवश्यकता भएको चौरसियाले बताए । उनले भने, ‘केन्द्र र प्रदेश दुवैमा गठबन्धनको सरकार छ, त्यसकारण उपेन्द्रजीले बारा जिल्लाको विकासका लागि विभिन्न आयोजना र कार्यक्रम ल्याउन सक्नुहुन्छ, त्यसैले उहाँलाई संसद्मा पुर्याउनु आजको आवश्यकता हो, यो कुरा यहाका आम जनताले पनि राम्ररी बुझिरहेका छन् ।’
मंसिर ४ को निर्वाचनमा बारा २ मा गठबन्धनको उम्मेदवार अलोकप्रिय भएका कारण असफल भएको र त्यहि व्याक्ति फेरि पनि उम्मेदवार बनेर आएकाले उसको हार निश्चित रहेको पनि चौरसियाले जिकिर गरे । सोमबारको घरदैलो कार्यक्रममा गठबन्धनका उम्मेदवार उपेन्द्र यादवसँगै नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्वमन्त्री उमाकान्त चौधरी, कांग्रेसका जिल्ला सभापति राजेशराय यादव, महागढी नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवलगायतका नेताको पनि सहभागीता थियो ।





