Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
26.1 C
Kathmandu

सीमावर्ती क्षेत्रका समस्याका सम्बन्धमा सरोकारवालाबीच छलफल

spot_img

वीरगंज । सर्वसाधारण तथा उद्योगी व्यवसायीहरुले सीमावर्ती क्षेत्रमा भोगीरहेका समस्याका सम्बन्धमा सरोकारवालाबिच छलफल भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले शनिवार आयोजना गरेको सीमा सुरक्षा बैठकमा सीमावर्ती क्षेत्रमा भएका नीतिगत एवम् संरचनागत समस्याका सम्बन्धमा छलफल भएको हो । छलफलमा सहभागी हुँदै वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले रेल्वेबाट आयत हुने सामग्री बाटोमै चोरी हुने गरेकोप्रति सम्बन्धीत भारतीय निकायलाई ध्यानाकर्षण गराए । उनले भने, ‘विगतको तुलनामा सुरक्षा बढेको भएपनि उद्योगी व्यवसायीले सुरक्षित महसुस गर्न सकेका छैनौँ । रेल्वेबाट सामान ल्याउँदा बाटोमै चोरी हुनु अत्यन्तै दुखद विषय हो, यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।’ पर्यटनको विकासमा दुवै देशको महत्वपूणर् भूमिका हुने बताउँदै उनले सीमावर्ती शहरमा पर्यटन पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।

नेपाली नम्बरका सवारी साधन भारत प्रवेशमा हुने कठीनाईलाई सहज बनाउनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीको सुझाव छ । वीरगञ्ज महानगरले रात्री बजारका अवसरमा ३ दिनसम्म २४ सै घण्टा खुला गरेको सीमानाकालाई निरन्तरता दिँदा दुवै देशको आर्थिक विकासमा सघाउ पुग्ने टेमानीको विश्वास छ । सीमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढ्दै जाँदा पनि आवतजावतमा असहजता हुनेप्रति उनले आपत्ती जनाए । ‘१७ सय ५२ किलोमीटर सीमा सँधै खुला हुन्छ, त्यो क्षेत्रमा सुरक्षाकर्मी पनि हुँदैनन् । अनि जहाँ धेरै सुरक्षाकर्मी तैनाथ हुन्छन्, त्यही क्षेत्रमा नाका बन्द गरिएको हुन्छ । यसको कुनै अर्थ छैन’ टेमानीले थपे, ‘यदि बन्द नै गर्ने हो भने स्थलगत मार्ग सँधैका लागि बन्द गरेर अन्य देश जस्तै हवाईमार्गमार्फत पासपोर्ट लिएर जाने व्यवस्था गर्नुप-यो।’ भारतबाट वीरगञ्ज आउनेहरु दिल्ली जानका लागि काठमाण्डौ जानुपर्ने बाध्यता रहेको बताउँदै टेमानीले थपे, ‘सीमावर्ती शहर रक्सौलमै रहेको विमानस्थललाई विस्तार गरेर सञ्चालन गर्न सके धेरै राहत हुने थियो ।’

सीमावर्ती शहर रक्सौलमा प्रवेश गर्ने बित्तिकै अवैध रुपमा सञ्चालित सटही काउन्टरका कारण सर्वसाधारणले सास्ती खेप्नुपरिरहेको नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठले बताए । उनकाअनुसार अवैध रुपमा रहेका सटही काउन्टरका कारण कतिपय नागरिक ठगीन पनि बाध्य छन् । सटही काउन्टरलाई व्यवस्थित बनाउनुपर्ने लाठको सुझाव छ । लाठले भने, ‘करिब ५० लाखभन्दा बढी नेपाली भारतमा श्रमिकको रुपमा कार्यरत छन्, विभिन्न चाडवाड तथा विदामा नेपाल आउँदा उनीहरु ठगीन बाध्य छन्, त्यसैले यसलाई नियमन गर्न आवश्यक छ ।’ सीमावर्ती शहरअन्र्तगत नेपालतर्फका पूर्वाधारहरु केही हदसम्म सुधारात्मक अवस्थामा भएपनि भारतीय क्षेत्रमा बेवास्ता भइरहेको उनको बुझाई छ । उनले भने, ‘आवतजावतका लागि र सामग्री ढुवानीका लागि नेपालतर्फका सीमा क्षेत्रमा भएका पूर्वाधार विकास हुने र सुधार हुने क्रममा देखिन्छन्, तर भारततर्फ खासै पहल भएको देखिएको छैन ।’

छलफलका क्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, महासचिव आशिष लाठ लगायतले उद्योगी व्यवसायी एवम् सर्वसाधारणले सीमा क्षेत्रमा सामना गर्नुपरेका समस्याका सम्बन्धमा ध्यानाकर्षण गराएका थिए । उद्योगी व्यवसायीहरुले उठाएका विषय तथा समस्याका सम्बन्धमा भारत पूर्वी चम्पारण मोतिहारीका जिल्ला अधिकारी सौरभ जोरवालले सकारात्मक प्रतिक्रिया दिएका छन् । सीमा क्षेत्रका समस्याहरुलाई सबै मिलेर समाधान गर्नुपर्ने बताउँदै उनले भारतीय सीमा क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । सुरक्षाकर्मीको काम नागरिकलाई सुरक्षा दिने भएको हुँदा दुःख दिने काम नगर्न उनले निर्देशन पनि दिएका छन् । भौतिक पूर्वाधार निर्माणका कामहरु पनि भइरहेको उनको भनाई छ । नेपाली सवारी साधनको आवागमनलाई सहज बनाउने विषयमा पनि छलफल गरेर आवश्यक निस्कर्ष निकाल्ने उनले आश्वासन दिएका छन् ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मि, बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, पश्चिम चम्पारण बगाहा पुलिस जिल्लाका जिल्ला अधिकारी दिनेश कुमार राइ, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह, पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, बाराका सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगी लगायत दुवै देशका सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once