Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
spot_img
23.7 C
Kathmandu

विकासमा पछि परेको पर्सालाई माथि उठाउन थुप्रै विकास निर्माणको काम गरेको छु : प्रदीप यादव

spot_img

वीरगञ्ज, ३० असोज ।

पूर्वमन्त्री एवम् पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार प्रदीप यादवले मङ्सिर ४ गतेको निर्वाचनमा कामको मूल्यांकन गरेर मतदान गर्न आग्रह गरेका छन् । वीरगञ्जमा शिक्षकहरुले आयोजना गरेको अन्तकृया कार्यक्रमलाई सम्बोधन गर्दै उनले मतदान गरेर पछुताउनुभन्दा पहिले नै विचार गरेर सही व्यक्तिलाई मतदान गर्नु पर्नेमा जोड दिए । आफूले इमान्दारी पूर्वक आफ्नो क्षेत्र र पर्सेली जनाताका लागि काम गरेको भन्दै उनले विकासमा पछि परेको पर्सा जिल्लालाई माथि उठाउन थुप्रै योजना भित्र्याएको पनि उल्लेख गरे । संसदको पहिलो कार्यकालमा थुप्रै काम गरेको उदाहरण दिँदै उनले कहिल्यै पनि टाउको झुकाउने गरी गलत काम नगरेको बताए ।

बरु अहिलेसम्म कसैले पनि गर्न नसकेका योजनाहरु आफूले पर्सावासीका लागि भित्र्याएको उनले बताए । जिल्लाका ग्रामिण क्षेत्रलाई जोड्न सडक सञ्जालदेखि देशकै ठूलो चिडिया घर निर्माण पर्साकै वीरगञ्जमा निर्माणको योजना अघि बढाएको भन्दै उनले त्यसले यहाँको आर्थिक अवस्था बृद्धि हुनुका साथै आम नागरिकले अवसर प्राप्त गर्ने पनि बताए । आफू सांसद बनेको केही वर्षमै देशले मात्रै नभई विश्व नै हल्लिने गरी कोभिड महामारी फैलिएको र त्यसले शैक्षिक अवस्थाका साथै समग्र देशकै अवस्थामा खलबल ल्याएको बताउँदै उनले त्यस्तो डरलाग्दो समयमा पनि आफू जनताको घरदैलोमा पुगेर उनीहरुसँग सुखदुख बाडिरहेको स्मरण गरे । उनले भने, ‘कोभिड महामारीका बेला कोही घरबाट बाहिर निस्किएको थिएन, यस क्षेत्रका जनताले मलाई मत दिएर विजयी गराएको र जनताको सेवक भएकाले उनीहरुको सुख दुखमा सँगै हिँड्नु पर्ने जिम्मेवारी बोध गर्दै कोभिडको कुनै प्रवाह नै नगरी म जनतासँगै रहेर काम गरेको छु ।’

उनी भन्छन्, ‘उहाँहरुको सुखदुख मेरो सुखदुख ठानेर मैले काम गरेको छु ।’ भारतमा फसेका नेपालीको कोभिडका बेला उद्धार गर्दा खेप्नु परेको हैरानी स्मरण गर्दै त्यस्तो बेलामा पनि थुप्रैको उद्धार गरेको भन्दै उनले आफू कहिल्यै पनि जनताबाट अलग नरहेको प्रष्ट पारे । कोरोना महामारीका बेला जनतालाई सहजै उपचार हुन सक्ने वातावरण बनाउन अस्पतालमा अक्सिजनको व्यवस्था मिलाउनुका साथै अतिआवश्यक एम्बुलेन्स तथा शव वाहन उपलब्ध गराएको पनि उनले बताए । अहिले निर्वाचनका बेला विभिन्न व्यक्ति विभिन्न प्रलोभन र नारा लिएर घरघरमा आइपुग्ने तर निर्वाचन पछि हराउने हुँदा त्यस्तालाई पहिचान गरेर सही व्यक्तिलाई मतदान गर्न पनि उनले आह्वान गरे ।

पर्साको क्षेत्र नम्बर १ मा प्रजातन्त्र र त्यसपछिको गणतन्त्र स्थापनासम्मको अवधिमा ६ जना सांसद बनेको भन्दै उनले आफू छैठौँ व्यक्ति रहेको र यही अवधिमा बढीभन्दा बढी काम भएको उल्लेख गरे । ‘तपाईहरु पनि हेर्न सक्नुहुन्छ, यस अघि ५ जना सांसद यहाँबाट भए उनीहरुको काम एकातिर र मैले गरेका काम अर्को तिर राख्नु हुन्छ भने पनि यो अवधिमा अधिकतम काम भएको पाउनु हुन्छ,’ उनले भने, ‘मूल्यांकन गर्ने जिम्मा अब तपाईँहरुको हातमा छ, यो मंसिर ४ गते तपाईहरुले मूल्यांकन गरेर आफ्नो अमूल्य मत दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’ कार्यक्रममा वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह, शिक्षाविद् हरिशंकर साहलगायतको आफ्नो मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once