विश्वकप २०२६ मा फकल्याण्ड विवाद, अर्जेन्टिनाको पक्षमा ह्वाइट हाउस

spot_img

काठमाडौं,०२ साउन । फुटबल विश्वकप २०२६ मा फकल्याण्ड टापुसम्बन्धी ब्यानर प्रदर्शन गरेको विषयमा विवादमा परेको अर्जेन्टिना टोलीको समर्थनमा ह्वाइट हाउस उभिएको छ। ह्वाइट हाउसले अर्जेन्टिनाका खेलाडीहरूको अभिव्यक्ति स्वतन्त्रताको अधिकारको बचाउ गर्दै अमेरिकामा यस्तो अभिव्यक्ति दिने अधिकार रहेको जनाएको छ।

विश्वकपको सेमिफाइनल खेलपछि अर्जेन्टिनाका खेलाडीहरूले एउटा ब्यानर प्रदर्शन गरेका थिए। उक्त ब्यानरमा “फकल्याण्ड अर्जेन्टिनाको हो” भन्ने सन्देश लेखिएको थियो। सो ब्यानरमार्फत अर्जेन्टिनाले फकल्याण्ड टापुमाथिको आफ्नो दाबी पुनः दोहोर्‍याएको थियो। ब्यानर प्रदर्शनपछि विवाद सुरु भएको हो। खेलकुदमा राजनीतिक सन्देश प्रयोग गरेको भन्दै फिफाले अर्जेन्टिना टोलीमाथि अनुशासनात्मक कारबाही गर्न सक्ने सम्भावना रहेको छ। फिफाको नियमअनुसार खेल दौरान राजनीतिक अभिव्यक्ति वा सन्देश प्रदर्शन गर्न निषेध गरिएको छ।

यस विषयमा प्रतिक्रिया दिँदै ह्वाइट हाउस फिफा टास्क फोर्सका प्रमुख एन्ड्रयु जुलियानीले अर्जेन्टिना टोलीको बचाउ गरेका छन्। उनले अमेरिकामा खेलाडीहरूलाई आफ्नो धारणा राख्ने अधिकार रहेको बताए। उनले अमेरिकी संविधानको पहिलो संशोधनले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको अधिकारको उल्लेख गर्दै भने, “हामी अमेरिकामा पहिलो संशोधनअन्तर्गत प्राप्त अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा विश्वास गर्छौं।”

ह्वाइट हाउसको यो भनाइपछि विवाद थप चर्किन सक्ने देखिएको छ। बेलायतको प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटले समेत यस विषयमा अनुसन्धानको माग गर्दै फिफाको प्रक्रियालाई समर्थन गरेको जनाएको छ। फकल्याण्ड टापु दक्षिण–पश्चिम एटलान्टिक महासागरमा रहेको क्षेत्र हो। हाल यो क्षेत्र बेलायतको नियन्त्रणमा रहेको छ भने यसको सार्वभौमसत्तालाई लिएर बेलायत र अर्जेन्टिनाबीच लामो समयदेखि विवाद रहँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once