मनसुन सक्रिय : आजदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम बढ्यो

spot_img

काठमाडौं,०२ साउन । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आगामी तीन दिनसम्म विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले विशेष गरी बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा पछ्याउन अनुरोध गरेको हो।

विभागका मौसमविद् सञ्जीव अधिकारी का अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालतर्फ सरदर स्थानभन्दा केही माथि तथा पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले देशका अधिकांश भागमा उल्लेख्य वर्षा हुने अवस्था बनेको छ। विभागले आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश का पहाडी तथा तराईका थोरै स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेश का केही स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसमविद्का अनुसार लगातारको वर्षासँगै नदी तथा खोलामा पानीको बहाव बढ्ने, गेग्रान बग्ने, बाढी, पहिरो तथा भूक्षयको जोखिम उच्च रहने भएकाले सतर्क रहन आवश्यक छ। विशेष गरी पहाडी तथा नदी आसपासका बस्ती, राजमार्ग र जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन विभागले आग्रह गरेको छ। विभागले सम्भावित वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने जनाएको छ। त्यसैले अत्यावश्यक कामबाहेक जोखिमपूर्ण क्षेत्रमा यात्रा नगर्न र विभागबाट जारी हुने मौसमसम्बन्धी सूचना नियमित रूपमा पालना गर्न अनुरोध गरिएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। अधिकांश पहाडी तथा तराई भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली क्षेत्रमा वर्षासँगै केही स्थानमा हिमपातसमेत हुन सक्ने विभागले जनाएको छ। यस्तै, आज राति पनि देशभर अधिकांश स्थानमा बदली कायम रहने र पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश का पहाडी तथा तराईका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन विभागले पुनः आग्रह गरेको छ।

विभागले मनसुन सक्रिय रहेकाले आगामी केही दिनसम्म मौसमको अवस्थाबारे जारी गरिने अद्यावधिक सूचना नियमित रूपमा हेर्न तथा स्थानीय प्रशासन र सम्बन्धित निकायबाट जारी हुने निर्देशनको पालना गर्न सबैमा अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once