वन जङ्गल जोगाएर मधेशलाई हरित प्रदेश बनाउने वन मन्त्री यादवको प्रतिवद्धता

spot_img

वीरगञ्ज, २१ साउन ।

वन तथा वातावरण मन्त्री प्रदीप यादवले मुआब्जा पाइसकेको जग्गा खाली नहुँदासम्म र बजेटको सुनिश्चितता नहुँदासम्म एउटा रुख पनि काट्न नदिने बताउनुभएको छ । निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता भएमात्रै रुख कटानका लागि वन मन्त्रालयबाट अनुमति दिने मन्त्री यादवले बताउनुभएको हो ।

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ४ स्थित सागरनाथमा निर्मित सशस्त्र वन रक्षक ब्यारेक भवनको उद्घाटन गर्दै मन्त्री यादवले निजगढ विमानस्थल मधेशको लाईफलाइन भएको हुँदा आफु त्यसको विरोधी नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “रुख काटेर जग्गा खाली गराउने, अनि फेरी बस्ती बसाल्ने र मुआब्जा दिने । यस्तो अब चल्दैन । पहिला मुआब्जा पाएको जग्गा खाली गराएर बिमानस्थलका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता नभएसम्म एउटा पनि रुख काट्न मन्त्रालयले अनुमति दिँदैन ।” वन माफियालाई तह लगाउनका लागि कुनै पनि कदम चाल्न पछि नहट्ने बताउनुहुँदै उहाँले मन्त्रालयको निर्देशनबमोजिम वन जङ्गलको संरक्षणका लागि काम गर्न निर्देशन दिनुभएको छ ।

वन मन्त्रालय ताली खाने नभएर गाली खाने मन्त्रालय भएको हुँदा गाली सहेर पनि वन जङ्गल संरक्षण तदारुकता देखाउन उनले आग्रह गर्नुभएको छ । तस्करसँग मिलेर काठ, ढुंगा र गीठीको लाइन दिने जस्ता गुनासोहरु सुनिएको बताउनुहुँदै उहाँले सुध्रिएर मन्त्रालयको निर्देशनको पालना गर्न आग्रह गर्नुभएको छ । राम्रो काम गर्नेलाई सम्मान र नराम्रो गर्नेलाई दण्डित गर्ने बताउनुहुँदै उहाँले सम्मान पाउने लायकको काम गर्न पनि निर्देशन दिनुभएको छ । केही समयभित्रै वन मन्त्रालयले सम्मान कार्यक्रमको आयोजना गर्ने हुँदा त्यसको लागि आवश्यक तयारी पनि भइरहेको मन्त्री यादवको भनाई छ । त्यसैगरी उहाँले सुकुमवासीको नाममा धनाढ्यहरुले पनि जग्गा कब्जा गरेर राखेको बताउँनुहुँदै अबदेखि असली सुकुमवासीको पहिचान गरेर मात्र जग्गा दावी पूर्जा वितरण गरिने बताउनुभयो ।

“सुकुमवासीको पूर्जा लिएर काठमाडौँ र ठूलाठूला शहरमा आलिसान घर, गाडी भएकाहरु पनि छन् । म त्यस्ता सयौँलाई चिन्छु । लाखौँको सुनको सिक्री लगाएर म सुकुमवासी भन्नेहरुको पहिचान गरेर अबदेखि सही व्यक्तिलाई मात्र हामीले जग्गा दावी पूर्जा वितरण गर्छौं,” उहाँले भन्नुभयो । बाघको संख्या बढेको भन्दै विश्वव्यापी रुपमा नेपालको चर्चा चलीरहेको बताउनुहुँदै उहाँले बाघ हेर्न आउने पर्यटकलाई बढावा दिनुपर्नेमा जोड दिनुभएको छ । वन तथा भू–संरक्षण विभागको वार्षिक कार्यक्रमअन्र्तगत निर्मित भवनको उद्घाटनपश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले वन रक्षकमा अपर्याप्त जनशक्ति हुँदा अपेक्षित काम हुन नसकेको हुँदा केही दिनभित्रै केही संख्यामा बन रक्षक भर्ना गरिने जानकारी दिनुभयो ।

वन रक्षकमा कम जनशक्ति भएको हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरीसँग समन्वय गरेर गस्ति गर्नुपर्नेमा जोड दिँदै उहाँले अहिलेसम्म बनको संरक्षणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले खेलेको भूमिकाको सह्राना गर्नुभयो । जङ्गल विनाश गर्दा यसको असर हामीले नै भोग्नुपर्ने भएकाले जंगलको संरक्षण गर्नका लागि वन माफियालाई तह लगाउने चेतावनी पनि दिनुभएको छ । वन तथा भू-संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रमोद साह, प्रदेशसभा सदस्य अशोक यादव, इश्वरपुर नगरपालिकाका मेयर मनोज आचार्यलगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once