सगरमाथा एकेडेमीमा दीपावलीको रौनक, दियो र रंगोलीमा विद्यार्थीको सिर्जनात्मक कला

spot_img

वीरगंज,१९ कार्तिक । दीपावली तथा छठ पर्वको अवसर पारेर विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता, कलात्मक क्षमता तथा मौलिक सांस्कृतिक पहिचान उजागर गर्ने उद्देश्यले वीरगञ्जस्थित सगरमाथा एकेडेमी स्कुलमा दियो निर्माण तथा रंगोली प्रतियोगिता सम्पन्न भएको छ।

विद्यालयको प्राङ्गणमा आयोजित उक्त प्रतियोगितामा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्नो कला, कल्पना र सिर्जनात्मक क्षमता प्रस्तुत गरेका थिए। पर्वको सांस्कृतिक महत्त्वलाई विद्यार्थीमाझ परिचित गराउनुका साथै उनीहरूभित्र लुकेका प्रतिभा पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक जियालाल गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुरजीदेवी स्कुलका पूर्वप्रधानाध्यापक लालबाबु तिवारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी, विशिष्ट अतिथि तथा निर्णायकका रूपमा कलाकार एवं चित्रकार मुकेश महतोलगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितालाई विद्यार्थीहरूको कक्षा र सिर्जनात्मक क्षमताअनुसार दुई विधामा विभाजन गरिएको थियो। कक्षा १ देखि ४ सम्मका विद्यार्थीका लागि आकर्षक तथा सिर्जनात्मक दियो निर्माण प्रतियोगिता आयोजना गरिएको थियो भने कक्षा ५ देखि १० सम्मका विद्यार्थीले विभिन्न रङको संयोजन गरी आकर्षक रंगोली निर्माण गरेका थिए। प्रतियोगिताका क्रममा साना विद्यार्थीहरूले विभिन्न आकार र स्वरूपका आकर्षक दियो निर्माण गरेका थिए। त्यस्तै, ठूला कक्षाका विद्यार्थीहरूले रङहरूको कलात्मक संयोजनमार्फत मनमोहक रंगोली तयार पारी आफ्नो कल्पनाशीलता र कलात्मक प्रतिभा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको सिर्जनाले विद्यालयको वातावरणलाई दीपावलीमय बनाएको थियो।

दियो निर्माण तथा रंगोली प्रतियोगितासँगै विद्यार्थीहरूले छठ पर्वको मौलिक संस्कृति झल्काउने झिझिया नृत्यलगायत विभिन्न सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए। सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक, मनोरञ्जनात्मक र उल्लासमय बनाएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रथम, द्वितीय र तृतीय स्थानका आधारमा पुरस्कृत गरिएको थियो। प्रमुख अतिथि, कार्यक्रमका सभापति तथा विशिष्ट अतिथिहरूले विजेता विद्यार्थीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लालबाबु तिवारीले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि यस्ता अतिरिक्त क्रियाकलाप अत्यन्तै आवश्यक रहेको बताए। विद्यार्थीभित्र लुकेर रहेका प्रतिभाको पहिचान गरी त्यसलाई प्रस्तुत गर्ने उपयुक्त अवसर प्रदान गर्नु विद्यालयको महत्त्वपूर्ण दायित्व भएको उनको भनाइ थियो। उनले पढाइसँगै कला, संस्कृति र सिर्जनात्मक गतिविधिमा विद्यार्थीको सहभागिताले उनीहरूको व्यक्तित्व विकासमा सहयोग पुग्ने धारणा व्यक्त गरे।

त्यसैगरी, विद्यालयका प्रधानाध्यापक जियालाल गुप्ताले शिक्षा किताबका पानामा मात्र सीमित नहुने बताए। विद्यार्थीले जीवनका हरेक क्षेत्रमा आफ्नो प्रतिभा, सिर्जनशीलता, अनुशासन र आत्मविश्वास प्रदर्शन गर्न सक्ने क्षमताको विकास गर्नु नै शिक्षाको महत्त्वपूर्ण उद्देश्य रहेको उनले उल्लेख गरे। “साना हातले बनाएको एउटा दियो होस् वा ठूला विद्यार्थीले तयार पारेको एउटा रंगोली, हरेक सिर्जनाभित्र एउटा नयाँ सोच र सम्भावना लुकेको हुन्छ,” प्रधानाध्यापक गुप्ताले भने।

उनले जीवनमा सधैँ प्रथम हुनुभन्दा आफूले गर्ने हरेक काममा उत्कृष्ट प्रयास गर्नु महत्त्वपूर्ण रहेको बताउँदै पुरस्कार जित्नु मात्रै सफलता नभई प्रतियोगितामा सहभागिता जनाउनु, नयाँ कुरा सिक्नु र आफ्नो प्रतिभा प्रस्तुत गर्नु पनि ठूलो उपलब्धि भएको धारणा राखे। आज गरिएको सानो प्रयास नै भोलिको ठूलो सफलताको आधार बन्न सक्ने उनको भनाइ थियो। कार्यक्रमको सञ्चालन शिक्षक संजीव यादवले गरेका थिए। कार्यक्रममा शिक्षिका रिंकु कर्ण, मुना पटेल, अशीम चौधरी, सुनीता साह, शिक्षक शिवकुमारलगायत अन्य शिक्षक–शिक्षिकाहरूको सक्रिय सहभागिता तथा सहयोग रहेको थियो।

विद्यालयका अनुसार प्रतियोगिताले विद्यार्थीहरूमा सिर्जनात्मक सोच, आत्मविश्वास, आपसी सहयोग, सांस्कृतिक चेतना तथा स्वस्थ प्रतिस्पर्धात्मक भावनाको विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। साथै, यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा पहिचान गर्ने, नयाँ कुरा सिक्ने र व्यवहारिक रूपमा आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गरेको विद्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once