– कौशल कुमार यादव
सप्तरी(राजविराज),१८ फागुन । — जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का सप्तरी निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार उमेश कुमार यादवले चुनाव प्रचारको अन्तिम दिन राजबिराजमा व्यापक घरदैलो अभियान तथा शक्ति प्रदर्शन गरेका छन्।
आचारसंहिता लागू हुनुअघि आयोजित कार्यक्रमअन्तर्गत निकालिएको र्यालीले नगरका विभिन्न चोक, बजार तथा बस्ती क्षेत्रको परिक्रमा गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरेको थियो। घरदैलोका क्रममा उम्मेदवार यादवले मधेशको समग्र विकास, संघीयताको सुदृढीकरण र संविधानको संरक्षण आफ्नो मुख्य एजेन्डा रहेको स्पष्ट पारे।
उनले शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीका क्षेत्रमा ठोस योजना अघि सार्दै जनताको जीवनस्तर उकास्न प्रतिबद्ध रहेको बताए। साथै उनले मतदातालाई पार्टीको चुनाव चिन्ह ‘छाता’मा मतदान गरी आफूलाई विजयी गराउन आग्रह गरे।
कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, युवा तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको जनाइएको छ। सहभागीहरूले नाराबाजी गर्दै नगर परिक्रमा गरेका थिए, जसले चुनावी माहोललाई थप उत्साहपूर्ण बनाएको थियो।
उम्मेदवार यादवले आगामी निर्वाचनलाई मधेशको अधिकार, पहिचान र समृद्धिसँग जोडिएको महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै शान्तिपूर्ण, निष्पक्ष र भयरहित मतदानका लागि सबैसँग सहयोगको अपिल गरेका छन्। उनले जनताको विश्वासलाई परिणाममा रूपान्तरण गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।





