Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
25.1 C
Kathmandu

लागू औषध गाँजासहित दुई जना पक्राउ, ६७ केजीभन्दा बढी गाँजा बरामद

spot_img

राजविराज(सप्तरी),१८ फागुन । जिल्ला प्रहरी कार्यालय सप्तरीले लागू औषध नियन्त्रण अभियानलाई तीव्रता दिँदै ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा गरिएको विशेष अपरेशनमा ६७ केजीभन्दा बढी लागू औषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. २ बिधिया टोलस्थित निर्माणाधीन घरमा लागू औषध गाँजा लुकाई राखिएको भन्ने विशेष सूचनापछि प्रहरी टोली खटिएको थियो। उक्त घरमा बस्ने वर्ष ४३ का सुरेन्द्र यादवलाई नियन्त्रणमा लिई कानुन बमोजिम खानतलासी गर्दा घरको कोठाभित्र प्लास्टिकका बोरा तथा प्याकेटमा लुकाइछिपाई राखिएको अवस्थामा ५८ केजी ५०० ग्राम गाँजा फेला परेको थियो।

यसैगरी थप अनुसन्धानका क्रममा सोही गाँजा बिक्री वितरण प्रयोजनका लागि घरधनी ४२ वर्षीय किसुनदेव यादवको संलग्नता रहेको खुल्न आएको प्रहरीले जनाएको छ। सुरेन्द्र यादवको बयान तथा सूचनाका आधारमा किसुनदेव यादवको पुरानो घरमा समेत खानतलासी गर्दा थप १० केजी १०० ग्राम गाँजा बरामद गरिएको हो। यसरी दुबै स्थानबाट गरी कुल ६८ केजी ६०० ग्राम लागू औषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रहरीले दुवै जनालाई लागू औषध सम्बन्धी कसूरमा नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानबाट बरामद गाँजा बिक्री वितरणका लागि तयारी अवस्थामा राखिएको देखिएको प्रहरीको भनाइ छ। पक्राउ परेकाहरूलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको र यस प्रकरणमा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा समेत अनुसन्धान जारी रहेको जनाइएको छ।

लागू औषध नियन्त्रण तथा ओसारपसार रोकथामका लागि जिल्लाभर निगरानी बढाइएको प्रहरीले बताएको छ। पछिल्लो समय लागू औषधको कारोबार बढ्दो चुनौतीका रूपमा देखिएकाले समुदायको सहकार्य आवश्यक रहेको प्रहरीको भनाइ छ। प्रहरीले यस्ता अवैध गतिविधिबारे सूचना उपलब्ध गराउन सर्वसाधारणसँग आग्रहसमेत गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले समाजमा लागू औषध दुरुपयोग र अवैध कारोबार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अपनाएको जनाउँदै आगामी दिनमा यस्ता अभियान अझ सशक्त बनाइने स्पष्ट पारेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once