काठमाडौं,०३ माघ । भक्तपुरमा शुक्रबार राति एक छोराले आफ्नै आमाको हत्या गरेका छन्। मध्यपुर थिमी नगरपालिका–३, तेर्सेटामा २७ वर्षीय प्रविण भण्डारीले आफ्नी आमा ५० वर्षीया सरिता भण्डारीको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले जानकारी दिए।
धनुषा, मिथिला नगरपालिका–११ घर भएका आमा–छोरा तेर्सेटामा डेरामा बस्दै आएका थिए। शुक्रबार राति प्रविणले आमामाथि धारिलो हतियारले आक्रमण गरेका थिए। गम्भीर घाइते भएकी सरिताको उपचारका क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
आमामाथि प्रहार गरेपछि प्रविणले आफ्नै टाउकोमा पनि धारिलो हतियार प्रहार गरी आत्महत्या प्रयास गरेका थिए। उनी घाइते अवस्थामा रहेका छन् र उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






