Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
22.1 C
Kathmandu

वीरगंजका युवा उद्यमी र उद्योगमन्त्री रिजाल बीच अन्तरक्रिया

spot_img

वीरगंज । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगंजले सङ्घीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग अन्तरक्रिया गरेको छ । बुधबार वीरगंजस्थति पूजन होटलमा एक कार्यक्रमको आयोजना गर्दै एनवाइइएफ वीरगंजले उद्योगमन्त्री रिजालसँग अन्तरक्रिया गरेको हो ।

अन्तरक्रियाका क्रममा एनवाइइएफसँग आबद्ध युवा उद्यमीले व्यापार, व्यवसाय र उद्यम गर्ने क्रममा नेपाल सरकारको नीति, बैंक ब्याज लगायातका कारण भइरहेको समस्याका बारेमा मन्त्री रिजाललाई अवगत गराए । युवा उद्यमीले काम गरेर नेपालको अर्थतन्त्रमा योग्दान पुर्‍याउन चाहेपनि गलत नीति र महँगो करक कारण गर्न नसकेको उनीहरुको भनाई थियो । युवा उद्यमीलाई प्रोत्साहन गर्न नेपाल सरकारले कुनै ठोस योजनासमेत अगाडि नसारेको उनीहरुले गुनासो गरे ।

उद्योगमन्त्री आफ्नै जिल्लावासी भएपछि आफूहरुले धेरै अपेक्षा राखेको एनवाइइएफ वीरगंजका अध्यक्ष राकेश साहले बताए । नेपाल सरकार अन्तर्गतको उद्योग मन्त्रालयले ल्याउने महत्वपूर्ण योजनामा प्राय पर्सा जिल्ला छुट्ने गरेको बताउँदै उनले भने, ‘उद्योग मन्त्रालयले युवाको शिप विकास र क्षमता अभिवृद्धिका लागि धेरै कार्यक्रमहरु ल्याएपनि पर्साका युवाहरुले त्यसको फाइदा उठाउँन सकिरहेका छैनन् । प्राय कार्यक्रमहरु बारा, रौतहटसम्म सिमिति हुन्छन्, पर्सा जिल्लामा आउँदैनन् । नि:शुल्क रुपमा दिइने त्यस्ता शिपमूलक तालिम पर्सा जिल्लामा पनि आए यहाँका युवाले धेरै कुरा सिक्न सक्छन् ।’

रोजगारी आभावका कारण दैनिक हजारौँ युवा नेपाल छोडेर विदेश गइरहेको भयावय अवस्थाको बारेमा मन्त्री रिजाललाई जानकारी गराउँदै एनवाइइएफ वीरगंजका निवर्तमान अध्यक्ष अनुप कुमार अग्रवालले युवालाई देशमै रोक्न सही नीति निर्माण गर्दै उद्यम सञ्चालनका निमित्त सकारात्मक वातावरण बनाउँदै रोजगारीको अवसर सृजना गर्ने तर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

बैंक ब्यादर र महँगो भन्सारमा शुल्कका कारण नेपालमा उद्योग सञ्चालन गर्दा यहाँका व्यवसायी दोहोरो मारमा परेको बताउँदै अग्रवालले भने, ‘मैले चलाएको उद्योगका लागि आवश्यक कच्चा पदार्थको भन्सार शुल्क महँगो छ । जति लागतमा मैले कच्चा पादार्थ ल्याउँछु त्यो भन्दा सस्तो दरमा भारतीय कम्पनिहरुले आफ्नो उत्पादन बेच्छन् । त्यसमाथि बैंकको महँगो ब्याजदरले हामी दोहोरो मारमा परेका छौँ । चाहेरपनि हामीले काम गर्न सकेका छैनौँ ।’

त्यस्तै उद्यमी विकास ठाकुरले नेपालमा क्रेडिट एक्ट नहुँदा बजारमा उधारो लिने दिने काम नै बन्द भएको सुनाउँदै भने, ‘समय मै उधारो लागेको पार्टीले पेमेन्ट नगर्ला भन्ने डरले बजारमा आज उधारोमा काम नै भइरहेको छैन । सबैसँग क्यासमा कारोबार गर्ने क्षमता हुँदैन, जसले गर्दा कयौं व्यवसाय बन्द हुने अवस्थामा पुगिसकेका छन् । नेपाल सरकारले राम्रो क्रेडिट एक्ट ल्याए यस्ता समस्याहरुको समाधान हुन्छ । उद्योगमन्त्रीका रुपमा यहाँबाट यसको लागि पहल होस् भन्ने हाम्रो चाहन छ ।’

बोरा उत्पादन गर्ने व्यवसायमा रहेका उद्यमी मोहित अग्रवालले कच्चा पदार्थको मूल्यवृद्धि, महँगो उत्पादन खर्च, सरकारी संयन्त्रको लापरवाही र भन्सार शुल्कका कारण निर्यातमुखी उद्योगपनि समस्यामा परेको जिकिर गरे । नेपालबाट हुने निर्यातमा लगातार कमि आइरहेको बेला देशबाट आफ्नो उत्पादन बाहिर पठाउँदै अर्थतन्त्र धान्न सहयोग गरिरहेका सिमित उद्योगलाई जोगाउने नीति निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

उद्यमीहरुको कुरा सुनेपछि उद्योगमन्त्री रिजालले आफू समस्या समाधान गर्न सकारात्मक रहेको बताए । उनले उद्यमीहरुलाई मन्त्रालय आएर विस्तृत रुपमा छलफल गर्ने निमन्त्रणा दिँदै भने, ‘हामी युवा उद्यमलाई प्रोत्साहन गर्ने चाहन्छौँ । यसका लागि के गर्नुपर्छ, कस्तो नीति निर्माण गर्नुपर्छ, कहाँ गएर कोसँग कुरा गर्नुपर्छ मलाई आएर भन्नुस, म सबै गर्न तयार छु । तपाईँहरु यसको लागि पूरा गृहकार्य गरेर कुनै दिन मन्त्रालय आउनुस् । सम्बन्धित सबै विभाग र फाँटका प्रमुखहरुसँग बसेर छलफल गर्दै यसको निचोड निकालौंला ।’

मन्त्री रिजालले आफू राजनीतिक प्राणि भएको र उधम, व्यापार, व्यवसायको बारेमा धेरै जानकारी नभएको बताउँदै भने, ‘म राजनीतिक प्राणि हुँ । आफ्नो पूरा जीवन जनताको सेवालाई समर्पित गरेको छु । उद्यम, व्यापार, व्यवसायको बारेमा धेरै कुरा जान्दिन, बुझ्ने क्रममा छु । यसमा मलाई तपाईँहरु जस्ता युवाको सहयोग चाहिन्छ । मलाई सफल पार्नु तपाईँहरुको पनि त दायित्व हो । मिलेर काम गरौँ, म विश्वस्त छु हामीले धेरै समस्याहरु समाधान गर्छौं ।’

कार्यक्रममा पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, मन्त्री रिजालका स्वकीय सचिव राकेश यादव, नेपाली कांग्रेसका नेता नविन सिंहलगायतको उपस्थिति थियो । छलफलको सहजीकरण एनवाइइएफ वीरगंजका सदस्य एवम् सञ्चारकर्मी आशुकुमार सर्राफले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once