Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
22.1 C
Kathmandu

निजी क्षेत्रका समस्याहरुलाई समाधान गरिदिन उद्योगमन्त्रीलाई वीरगंजका व्यवसायीको आग्रह

spot_img

वीरगंज । पर्सा-बारा औद्योगिक कोरिडोर क्षेत्रका समस्या समाधानका लागि पहलकदमी लिन यस क्षेत्रका उद्योगी व्यवसायीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई आग्रह गरेका छन् । मन्त्री रिजालको स्वागत तथा सम्मानमा गृह जिल्ला पर्साको वीरगन्जमा मंगलबार आयोजित कार्यक्रममा यहाँका उद्योगी व्यवसायीले पर्सा-बारा क्षेत्रका उद्योग व्यवसायमा विद्यमान समस्या समाधानका लागि आग्रह गरेका हुन् । वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा उद्योगी व्यवसायीले पहिलो पटक पर्साले उद्योग मन्त्री पाएकाले उनकै कार्यकालमा निजी क्षेत्रमैत्री नयाँ युगको प्रारम्भ हुने विश्वास लिएको बताए ।
उद्योग मन्त्री रिजालसामु निजी क्षेत्रका समस्या सुनाउँदै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले देशकै ठूलो पर्सा- बारा औद्योगिक कोरिडोरलाई औपचारिक रुपमै औद्योगिक क्षेत्र घोषणा गराउन पहलकदमी लिइदिन मन्त्री रिजाललाई आग्रह गरे । सरकारले औद्योगिक क्षेत्र घोषणा नगरिदिदाँ यसबापत सरकारबाट पाउने सेवा सुविधा उद्योगी व्यवसायीले पाउन नसकेको र यस क्षेत्रमा वैदेशिक लगानी पनि भित्र्याउन नसकिएको अग्रवालले गुनासो गरे । कोरिडोरमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र र औद्योगिक सुरक्षा बल स्थापना गराइदिन पनि उनले आग्रह गरे । वीरगन्जमा रहेको सुख्खा बन्दरगाह (आइसिडी ) र एकिृत जाँच चौकी (आइसिपी) २० वर्ष पहिलेकै संरचनामा चलिरहेकाले ती दुवैको भौतिक पूर्वाधार विस्तारको खाँचो रहेको पनि उनले मन्त्री रिजालाई सुनाए । दुवैमा सुविधासम्पन्न खाद्यान्न क्वारेन्टाइन स्थापना पनि गरिदिन उनले आग्रह गरे । यस्तै औद्योगिक कोरिडोरका उद्योगबाट निस्कने फोहोर व्यवस्थापनका लागि औद्योगिक डम्पिङ साइड निर्माण गरिदन पनि उनले आग्रह गरे ।
बाराको सिमरामा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गरिए पनि त्यसको कार्यान्वयन सुस्त रहेको र त्यसको सफल सन्चालन हुन नसकेको गुनासो गर्दै अध्यक्ष अग्रवालले भने,‘सेजमा उद्योगका लागि जग्गा भाडा पनि निक्कै महङगो छ, त्यसलाई घटाइ दिनुपर्छ अनि मात्र त्यहाँ उद्योगहरूको लगानी बढ्न सक्छ । औद्योगिक कोरिडोरमा विद्युतको ट्रिपिङ र अघोषित लोडसेडिङले उद्योगीहरू अक्रान्त रहेकाले यो समस्या समाधानका लागि ऊर्जा मन्त्रालयमा पहल गरिदिन मन्त्री रिजाललाई उनले आग्रह गरे । जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले आर्थिक एवं औद्योगिक नगर वीरगन्जले पहिलो पटक पर्साकै वासिन्दा रमेश रिजाललाई उद्योग मन्त्रीका रूपमा पाएकाले उहाँको कार्यकालमा निजी क्षेत्रको समस्या यदि सम्बोधन भएन भने त्यसपछिका दिनमा यहाँका उद्योगी व्यपारीले सरकारबाट कुनै पनि कुराको अपेक्षा गर्नु नै व्यर्थ हुने बताए ।
वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं वीरगन्जका पूर्व मेयर विजय सरावगीले औद्योगिक र वाणिज्य क्षेत्रका लागि दीर्घकालीन नीति बनाउन मन्त्री रिजालसँग आग्रह गरे । वीरगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष ओमप्रकाश शर्माले अहिलेको औद्योगिक कोरिडोर मानव बस्तिका बीचमा परेकाले ग्रामीण भेगतिर जग्गा खोजेर नयाँ औद्योगिक कोरिडोर स्थापनाका लागि पहलगरिदिन मन्त्री रिजालसँग आग्रह गरे । वीरगन्जमा बन्द रहेको चिनी कारखाना सम्भव भए सन्चालनका लागि पहल गरिदिन नभए त्यसको जग्गा जोगाइदिन पनि उनले मन्त्री रिजाललाई आग्रह गरे । पर्सा-बाराका उद्योगी व्यवसायीको समस्या र सुझाव सुनेपछि उद्योगमन्त्री रिजालले वीरगन्जलाई आर्थिक राजधानी र औद्योगिक नगरी भनिएपनि यहाँका उद्योगी व्यापारी ठगिएको स्वीकारे । तर अब त्यस्तो हुन नदिने उनले बताए । मन्त्री रिजालले भने, ‘म यही जन्मेको यहि हुर्केको र यही राजनीति गरिरहेको मान्छे हुँ , यहाँको निजी क्षेत्रको समस्याबारे जानकार छु, ती समस्या सम्बोधनका लागि मैले मन्त्रीको हैसियतामा हरसम्भव प्रयास गर्नेछु ।
उनले यस क्षेत्रका अगुवा उद्योगी व्यवसायीलाई एउटा टिम बनाएर समस्यासहित मन्त्रालयमा आउन आग्रह गरे । उनले भने,‘ तपाईंहरू टिम बनाएर मन्त्रालयमा आउनुस् मैले मन्त्रालयका सचिव र विज्ञहरू राखेर छलफल गर्छु , एउटा रोड म्याप बनाएर अगाडि बढौला । अहिलेको सरकार निजी क्षेत्रमैत्री वातावरण र नीति निर्माणका लागि गम्भीरता पूर्वक लागिसकेको पनि उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once