Date
मङ्ल, जेष्ठ २६, २०८३
Tue, June 9, 2026
spot_img
19.3 C
Kathmandu

छपकैया–३ मा रास्वपाको शक्ति प्रदर्शन : ६० जना नेता–कार्यकर्ता पार्टी प्रवेश, संगठन विस्तारमा जोड

spot_img

वीरगंज,११ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्जको छपकैया–३ मा शक्ति प्रदर्शनसहित भव्य पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ। शनिबार आयोजित उक्त कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी करिब ६० जना नेता–कार्यकर्ता तथा समर्थकहरू रास्वपामा औपचारिक रूपमा प्रवेश गरेका छन्। कार्यक्रममा उल्लेखनीय जनसहभागिता देखिएको थियो।

वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी (जसपा), नेपाली कांग्रेस तथा अन्य दल परित्याग गरी स्थानीय कार्यकर्ता र समर्थकहरू रास्वपामा आबद्ध भएका हुन्। पछिल्लो समय पर्सा–२ मा दलहरूबीच तीव्र प्रतिस्पर्धा भइरहेका बेला रास्वपाको यो कार्यक्रमलाई संगठन विस्तारको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

पार्टी प्रवेश गर्ने नवप्रवेशीहरूलाई पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का रास्वपा उम्मेदवार सुशील कुमार कानुले खादा तथा अबिर लगाएर स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै कानुले निर्वाचन लक्षित एजेन्डा सार्वजनिक गर्नुका साथै क्षेत्रका दीर्घकालीन समस्याबारे धारणा राखे। उनले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र महिला सशक्तीकरणलाई आफ्नो मुख्य प्राथमिकता रहेको बताए।

कानुले विशेषगरी महिलाको आर्थिक सशक्तीकरणलाई केन्द्रमा राखेर घरमै बसेर गर्न सकिने आयआर्जनमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। कृषि तथा पशुपालनसम्बन्धी प्राविधिक तालिम, सिलाइ–कटाइ, घरेलु उद्योग तथा सीपमूलक तालिममार्फत महिलालाई आत्मनिर्भर बनाउने योजना उनले अघि सारे। यस्ता कार्यक्रमले परिवारको आम्दानी वृद्धि गर्न र सामाजिक रूपान्तरणमा सकारात्मक प्रभाव पार्ने विश्वास उनले व्यक्त गरे।

त्यसैगरी युवाहरूको वैदेशिक पलायन रोक्न स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए। साना तथा मझौला उद्योग प्रवर्द्धन, सीप विकास तालिम र उद्यमशीलता विस्तारमार्फत युवालाई आफ्नै क्षेत्रमा अवसर सिर्जना गर्ने उनको भनाइ थियो।

कार्यक्रममा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, मतदाता परिचालन र चुनावी रणनीतिबारे समेत विस्तृत छलफल गरिएको थियो। पार्टीका स्थानीय नेताहरूले घरदैलो अभियानलाई थप प्रभावकारी बनाउने र प्रत्येक टोलमा संगठन विस्तार गर्ने रणनीति अघि सारेका छन्।

नवप्रवेशी कार्यकर्ताहरूले पुराना दलप्रति निराशा व्यक्त गर्दै रास्वपाको वैकल्पिक राजनीतिक सोच, पारदर्शिता र उत्तरदायित्वलाई समर्थन गरेको बताएका थिए। उनीहरूले परिवर्तन र सुशासनका लागि रास्वपाले अघि सारेको एजेन्डा प्रभावकारी रहेको उल्लेख गरे।

छपकैया–३ मा भएको यो शक्ति प्रदर्शनपछि पर्सा–२ को चुनावी माहोल थप तातेको छ। विभिन्न दलहरूबीच प्रतिस्पर्धा चर्किंदै जाँदा मतदाताको समर्थन कसले जित्छ भन्ने विषय चासोको केन्द्र बनेको छ। आगामी निर्वाचनमा रास्वपाले संगठन विस्तारको प्रभावलाई मतपरिणाममा रूपान्तरण गर्न सक्ने वा नसक्ने भन्ने प्रश्न अब राजनीतिक वृत्तमा बहसको विषय बनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once