Date
मङ्ल, जेष्ठ २६, २०८३
Tue, June 9, 2026
spot_img
19.3 C
Kathmandu

जनताको घरदैलोमा सुशील कानु, समस्या समाधानका लागि संसदमा पहल गर्ने घोषणा

spot_img

वीरगंज,१० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले आइतबार पर्सागढी नगरपालिका–९ का बडेर्वा र तेलिया तथा वडा नम्बर ७ को फुलवारीयामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोका क्रममा उम्मेदवार कानुले स्थानीय मतदातासँग भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डाबारे जानकारी गराए। उनले घण्टी छापमा मतदान गरेर भ्रष्टाचारमुक्त देश निर्माणको अभियानमा सहयोग गर्न आग्रह गरे।

मतदातासँगको संवादमा कानुले प्रजातन्त्र स्थापनादेखि नै विभिन्न राजनीतिक दलहरूले भ्रष्टाचार गर्दै आएको आरोप लगाउँदै त्यसले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पारेको दाबी गरे। “अब परिवर्तनको समय आएको छ, मुलुकलाई सही दिशामा डोर्‍याउन घण्टी छापमा मतदान आवश्यक छ,” उनले भने।

कानुले क्षेत्रका दीर्घकालीन समस्या, तिनका कारण र सम्भावित समाधानबारे स्थानीयसँग खुला छलफल समेत गरेका थिए। निर्वाचित भएपछि महिलाहरूका लागि घरमै बसेर सिक्न सकिने प्राविधिक तथा सीपमूलक तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै उनले कृषि तथा पशुपालन तालिम, सिलाइ–कटाइजस्ता कार्यक्रममार्फत महिलालाई आत्मनिर्भर बनाउने योजना सुनाए। “यस्ता तालिमले पारिवारिक आम्दानी बढाउन महत्वपूर्ण टेवा पुग्नेछ,” उनले बताए।

कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले कृषि क्षेत्रमा जङ्गली जनावरबाट हुने क्षतिको समस्या उठाएका थिए। कानुले सो समस्याको समाधानका लागि प्रभावकारी नीति निर्माण, उचित क्षतिपूर्ति व्यवस्था र दीर्घकालीन कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। “किसानको पसिनाको सम्मान हुने व्यवस्था गर्न म सदनमा निरन्तर आवाज उठाउनेछु,” उनले भने।

घरदैलो कार्यक्रममा सहभागी स्थानीयवासीहरूले कानुलाई नयाँ सोच र स्पष्ट योजनासहित जनताको समस्या प्रत्यक्ष सुन्ने उम्मेदवारका रूपमा चित्रण गर्दै यसपटक परिवर्तनका लागि रास्वपालाई अवसर दिनुपर्ने धारणा व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once