काठमाडौं,१९ माघ । हरेक व्यक्ति, परिवार र समुदायका आफ्नै विशिष्ट चलन र परम्परा हुन्छन् । पुस्तौंदेखि अभ्यासमा रहेका यिनै चलन–व्यवहारलाई संस्कार भनिन्छ, जसले समयक्रममा संस्कृति र अन्ततः सभ्यताको रूप लिने गर्दछ । इतिहास हेर्दा संस्कारबाट सभ्यता निर्माण हुन हजारौँ वर्ष लागेको देखिन्छ ।
हाम्रा पुर्खाले अंगीकार गरेका धेरै संस्कार धार्मिक आस्थासँग जोडिए पनि ती स्वास्थ्य र जीवनशैलीका दृष्टिले वैज्ञानिक रूपमा उपयुक्त रहेको पाइएको छ । तर यस्ता संस्कारको भित्री कारण नबुझ्दा र पुस्तान्तरण नहुँदा आज धेरै उपयोगी परम्पराहरू हराउँदै गएका छन् ।
खानपानसँग सम्बन्धित परम्पराहरू यसको प्रमुख उदाहरण हुन् । नुहाएर खाना खाने, ताजा भोजन गर्ने, खानुअघि पानी आचमन गर्ने, पञ्चगास खाने, नबोली खाना खानेजस्ता चलनहरू स्वास्थ्य विज्ञानसँग प्रत्यक्ष जोडिएका छन् । विज्ञहरूका अनुसार बासी तथा पटक–पटक तताइएको खाना पोषणतत्त्व नष्ट हुने मात्र होइन, शरीरका लागि हानिकारक पनि हुन सक्छ ।
यसैगरी तुलसी पूजा, सूर्यलाई जल अर्पण गर्ने जस्ता धार्मिक अभ्यासले अक्सिजन ग्रहण, मानसिक शान्ति र सकारात्मक ऊर्जामा सहयोग पुग्ने जनाइएको छ । तर यस्ता अभ्यासलाई सबैका लागि समान रूपमा लागू नगर्दा समाजमा असन्तुलन र भ्रम पैदा भएको देखिन्छ ।
आधुनिक जीवनशैलीसँगै फ्रिजमा लामो समयसम्म खाना राख्ने, प्रशोधित तथा बेमौसमी खाद्य पदार्थको प्रयोग बढ्दा मधुमेह, उच्च रक्तचाप, तनाव र डिप्रेसनजस्ता समस्या सामान्य बन्दै गएका छन् । यसले शुद्ध आहार–विहारको महत्त्व झनै बढाएको छ ।
विशेषज्ञहरूका अनुसार हाम्रा मौलिक संस्कारलाई अन्धविश्वासका रूपमा होइन, वैज्ञानिक दृष्टिले मूल्याङ्कन गर्दै उपयोगी परम्पराको संरक्षण र प्रवर्द्धन गर्नु आजको आवश्यकता हो । सेवा नै धर्म हो भन्ने मान्यता आत्मसात् गर्दै ताजा, शुद्ध र सन्तुलित जीवनशैली अपनाए मात्र समृद्ध र स्वस्थ समाज निर्माण सम्भव हुने उनीहरूको भनाइ छ ।
(लेखक जीवन विज्ञान प्रतिष्ठानका प्रशिक्षक हुन्)





